श्रीमान् खोज्न नेपाल आएकी मलेसियन अग्निनियन्त्रककी श्रीमती हानी ओथमानको मानवीय पहल।

काठमाडौं := नेपालमा पर्वतारोहण भ्रमणका क्रममा हराइरहेका मलेसियन अग्निनियन्त्रक मोहम्मद फखरुल मुनिर मोहम्मद इसाकको खोजीका लागि गत अगस्ट २८ मा काठमाडौं आएकी उनकी श्रीमती हानी ओथमानले आफ्नो पीडालाई मानवीय सेवामा बदल्दै बाढी–पहिरो पीडित नेपालीका लागि एक ट्रक राहत सामग्री संकलन गरेकी छन्।

मलेसियाका दाताहरूको सहयोगमा संकलित राहतमा महिलाका सेनेटरी प्याड, मञ्जन, भित्री वस्त्र, चप्पल, तयारी चाउचाउ र सोलार पावर बैंकलगायत सामग्री छन्। उनले २०० वटा ‘सर्भाइभल किट’ समेत तयार पारेकी छन्।

हानीको यो पहल केवल राहत वितरणमा सीमित छैन। आफ्ना श्रीमान् फखरुल मुनिरको खोजी तथा उद्धारका क्रममा नेपाल आएका बेला उनले विपत्तिमा परेका नेपाली परिवारको पीडा पनि आफ्नो पीडाजस्तै महसुस गरेकी छन्। “श्रीमान्को अवस्थाबारे चिन्ता र पीडा त छँदैछ, तर यहाँ संकटमा परेका मानिसहरूलाई देखेपछि सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो,” भन्ने भावनासहित उनले आफ्नो व्यक्तिगत दुःखलाई सेवामा रूपान्तरण गरेकी छन्।

प्रभावित क्षेत्रको राहत शिविरमा सामग्री पुर्‍याउन आवश्यक प्रक्रिया पूरा गरेकी हानी अहिले नेपाल सरकारको आधिकारिक स्वीकृतिको प्रतीक्षामा छिन्।

आफ्ना श्रीमान्को खोजीको पीडाबीच पनि विपत्तिमा परेका नेपालीलाई सहयोग गर्ने उनको पहलले मानवता र सहानुभूतिको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। साथै, राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने क्रममा श्रीमान्को खोजीबारे कुनै सूचना वा सुराक भेटिने आशा पनि उनले राखेकी छन्।