क्वालालम्पुर (मलेसिया):= नेपालमा गत बुधबार चीनको तिब्बततर्फबाट रसुवा नाका हुँदै नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका, घाइते भएका तथा विपद्मा परेका नेपाली नागरिकको उद्धार, राहत र सहयोगका लागि मलेसियामा कार्यरत दुई नेपाली सुरक्षागार्डले आर्थिक सहयोग प्रदान गरेका छन्।
मलेसियामा सुरक्षागार्डका रूपमा कार्यरत सुरेश सुब्बाले रु. १८ हजार ८५० तथा सुभास बुढाथोकीले रु. २२ हजार २४२ सहयोग गरेका हुन्। उनीहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडित नेपालीका लागि सहयोग गरेका हुन्।


दुवै श्रमिकले आफूहरूले विदेशमा दुःख गरेर कमाएको आम्दानीबाट विपद्मा परेका आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएका छन्।
मलेसियामा लाखौंको संख्यामा नेपाली श्रमिकहरू सुरक्षागार्डका रूपमा कार्यरत छन्। अधिकांश सुरक्षा गार्डको मासिक पारिश्रमिक करिब २२०० देखि २३०० रिङ्गिटको हाराहारीमा सीमित हुने गरेको अवस्थामा पनि उनीहरूले आफ्नो आम्दानीबाट नेपालमा परेको विपद्मा खुलेर सहयोग गरिरहेका छन्।
आफ्नो आम्दानी सीमित भए पनि मातृभूमिमा विपत्ति पर्दा सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नेपाली सुरक्षागार्ड लगायत नेपालीहरूले पछिल्लो समय उल्लेख्य आर्थिक सहयोग जुटाउँदै आएका छन्। सुरेश सुब्बा र सुभास बुढाथोकीको सहयोगले पनि कमाइ सानो भए पनि नेपाली श्रमिकको मन र मातृभूमिप्रतिको माया ठूलो हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
विपद्को यस कठिन घडीमा विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूले देखाएको मानवीय सहयोगले बाढीपीडित परिवारलाई राहत मात्र होइन, देश–विदेशमा रहेका नेपालीबीचको एकता र सहकार्यको सन्देशसमेत दिएको छ।




















