[ घनश्याम चौधरी “आरएन” ]
थाइल्याण्ड:= नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि NRNA NCC थाइल्याण्डको अगुवाइमा संकलित रकममध्ये पहिलो चरणमा १० लाख रुपैयाँ नेपाल पठाइएको छ।
संकलित रकममध्ये ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र ५ लाख रुपैयाँ NRNA ICC को समन्वयमा बाढीपीडितको तत्काल राहतका लागि पठाइएको एनआरएनए एनसिसि थाइल्यान्ड संस्थाका सचिव राजबहादुर साउँदले जानकारी दिनुभयो ।
थाइल्याण्डमा रहेका नेपाली, नेपालीभाषी, नेपालप्रेमी थाई तथा विदेशी नागरिकहरूको सहयोगमा सञ्चालन भइरहेको अभियानबाट हालसम्म ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको बताइएको छ।
संकलन भइरहेको बाँकी रकमलाई आगामी दिनमा बाढी प्रभावित क्षेत्रको जनताको लागि पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले चरणबद्ध रूपमा नेपाल पठाइने जनाएको छ। यस मानवीय अभियानमा सहयोग गर्ने सम्पूर्ण नेपाली, नेपालप्रेमी थाई नागरिक तथा अन्य विदेशी नागरिकहरूप्रति संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
साउँदले मातृभूमिमा परेको विपत्तिमा थाइल्याण्डस्थित नेपाली समुदाय एकजुट भएर सहयोगमा जुटेको बताउँदै अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो। “विदेशमा रहे पनि मातृभूमि र नेपाली जनताको दुःखमा साथ दिनु हाम्रो साझा दायित्व हो,” साउँदले भन्नुभयो।




















