विपक्षीलाई औंला ठड्याउने ठाउँ छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रमले मुलुकलाई न्यायसहितको समृद्धिको यात्रामा अघि बढाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई शनिबारसम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा समाजवादोन्मुख भएकाले देशलाई समृद्धिको यात्रामा डो¥याउने विश्वास व्यक्त गरे ।
“संविधानमा नै समाजवादोन्मुख भनेर लेखिएकाले नीति तथा कार्यक्रम पनि समाजवादोन्मुख रहेको छ”, उनले भने, “शुक्रबार सङ्घीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको कार्यक्रमले सरकार मुलुकमा विकास र सुशासन कायम गर्ने मार्गमा अगाडि बढेको स्पष्ट छ ।”
सरकार र पार्टीको उद्देश्य मुलुकलाई समाजवादको गन्तव्यतर्फ उन्मुख गर्ने भएको बताउँदै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमले मुलुकको विकासका आधार तयार गर्ने बताए । उनले प्रतिपक्षले कुनै पनि आलोचना गर्ने खालका नभई सबैलाई समेटेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको स्पष्ट पारे । “हामीले नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तयार गर्दा कहीँकतै पनि चुकेका छैनौँ”, उनले भने, “विपक्षीलाई आँैला ठड्याउने ठाउँ छैन ।”
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा समावेश गरिएका विषय सत्तापक्षले कुनै प्रतिवाद र प्रतिपक्षले पनि विरोध गर्न नपर्ने गरी ल्याइएको स्पष्ट पारे । समावेश भएका कार्यक्रम नराम्रो नभएकाले प्रतिपक्ष दलले विरोध गरे पनि प्रतिरक्षा गर्न सजिलो भएको बताउँदै प्रधानमन्त्रीले सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिन निर्देशन दिए ।
उनले नीति तथा कार्यक्रममा ल्याएका कुरामा अलमल गर्ने ठाउँ नभएकाले सांसदलाई राम्रोसँग पढेर आलोचनाको खण्डन गर्नसमेत आग्रह गरे । “नीति तथा कार्यक्रम जति राम्रै भए पनि प्रतिपक्षले विरोध गर्दछन्”, उनले भने, “तर अहिलेको सरकारको कार्यक्रम नराम्रो छैन । प्रतिपक्षसँग प्रतिकार गर्न पनि सजिलो छ । ढुक्कले प्रतिकार गर्दै कार्यक्रमको पक्षपोषण गर्नुहोस् ।” प्रधानमन्त्री ओलीले सांसदलाई काम गर्न सजिलो हुने गरी नीति तथा कार्यक्रमअनुसार बजेट विनियोजन गरिनेसमेत बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको संरचनाका माथिल्लो तहमा बसेको जनप्रतिनिधि रहेकाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सरकारलाई मेरो सरकार भन्न पाउने धारणा राखे ।
“राष्ट्रपतिले आफ्नो देशलाई मेरो देश र आफ्नो सरकारलाई मेरो सरकार भन्न सक्नुहुन्छ”, उनले भने , “जुनसुकै दलको सरकारलाई पनि मेरो सरकार भन्न उहाँले पाउनुहुन्छ । त्यहीअनुसार राष्ट्रपति भण्डारीले अहिलेको सरकारलाई मेरो सरकार भन्नुभएको हो ।”
उनले भुलचुक, दम्भ र अहंकारले नभएर वास्तविक रूपमा राष्ट्रपतिले मेरो सरकार भनेको प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा कुनै पनि संशोधन नभई जस्ताको तस्तै पारितसमेत हुने बताए । उनले आफूले अपेक्षा गरेअनुसार विकासले गति नलिए पनि अभूतपूर्व तवरले विकासका काम अगाडि बढेको उल्लेख गरे । सरकारी सम्पत्ति छानबिन गरेर सरकारको मातहतमा ल्याउने प्रयास जारी रहेको जानकारी दिँदै उनले भ्रष्टाचारी, तस्करी र कालोबजारी नियन्त्रण गर्ने विकास व्यक्त गरे ।
सरकारले मुलुकको विकासका लागि गरेन भन्ने ठाउँ नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पूँजीगत खर्च गर्नेतर्फ केही कमजोरी भए पनि अन्यमा भने सफलता प्राप्त गरिएको बताए । “पूँजीजगत खर्च गर्नेमा हाम्रो केही कमजोरी रह्यो । यसपटक आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गर्नुपरेको छैन”, उनले भने, “पूँजीगत खर्च गर्ने क्षमता विकास गर्न जरुरी छ ।”
उनले आगामी २० महीनाभित्र पुरातत्वको संरचनाबाहेक सबै पुनःनिर्माणको काम सकिने जानकारी गराए । “आजदेखि बारा, पर्साका बाढीपीडितका लागि १२ ठाउँका एकै साथ पुनःनिर्माणको काम शुरु गरेका छौँ”, उनले भने, “बर्खायाम अगावै सबै घर पुनःनिर्माण गरिने छ ।” दुई ठूला कम्युनिष्ट मिलेर दुईतिहाइको सरकार गठन गरेर मुलुकलाई स्थायित्वतर्फ अगाडि बढाएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकार मानवअधिकारप्रति प्रतिबद्ध रहेको विश्वास दिलाए ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलगायत रहेका थिए । रासस




















