स्थान : घरको आँगन
समय : बिहान सात बजेतिर
पात्रहरू
फुलमती : घरकी बुहारी
सन्तमान : फुलमतीको ससुरो
बुधनी : फुलमतीकी सासू
ड्यानियल : फुलमतीको छोरो
कुमार : विद्यालयको शिक्षक
शम्भु : कुमारको सहकर्मी
धनीसरा : आमा समूहकी अध्यक्ष
बिस्तारै पर्दा खुल्छ । फुलमतीको घरको दलान । दलानको छेउमा सन्तमान फाटेको डोकाको पिँध टाल्दै छन् । बुधनी दैलाका ठेलैमा मलिन अनुहार पारेर बसेकी छ । आँगनका मध्यभागमा ओख्ली र भुइँमा मुस्ली लडिराखेको छ । आँगनका माथ्लापट्टि डिलमा झ्याम्म परेको नीलकाँडा फूलको बोट छ । एक अँगालो दाउरा दलानका जाँतोमाथि चपक्क पारेर राखेको देखिन्छ । एउटा रातो भाले कुखुरी काँ को तीखो आवाज उराल्दै आँगनका डिलतिर कुदेको देखिन्छ ।
फुलमती ः (भित्रबाट बाहिर आउन खोज्दै) खै बाटो छोड । हैन, कस्तो बस्ने ठाउँ पनि नदेखेको यिनले दैलैको ठेलमा बस्नुपर्ने छ्या बुधुनी बसीबसीभित्र सर्छे । यिनको मर्ने बेलामा पनि बुद्धि नआउने भो ।
(घरको कराँसाबाट ड्यानियल बाख्राको पाठो च्यापेर आउँछ ।)
ड्यानियल ः मम्मी÷मम्मी यो पाठो पनि हामीसँगै लाने है लग्यो मुनेलाई, ल मम्मी ।
फुलमती ः किन लैजानुप¥यो यो जाबो पाठो ड्यानु । हामीलाई अब बाख्रापाठा, सुँगुर,कुखुरा, गाईवस्तु केही चाहिँदैन । अब हामी यो धुलैधुलो भएको भुइँमा बिट फाटेका गुन्द्रीमाथि नसुत्ने छोरो । काठमाण्डू जाने । तिमीले बोडिङ पढ्ने । आजै जाने ।
ड्यानियल ः नाई मम्मी मुने पनि लाने । हामीसँगै लाने मुने पनि मसँगै बोर्डिङ पढ्छ ।
सन्तमान ः मुने यीँ बस्छ दनेल । मुने तिमले लग्यौ भने त उस्को आमा रुन्छ । धेरै रुन्छ । सन्तमानका आँखाभरी आँसु बग्छ । अब तँ पनि जाने, तेरो आमा पनि जाने, अनि के हेरेर बोस्ने । हामीलाई छोडेरै जान्छौ तरुतेरो बाउ पनि आउँदैन । तिमरु पनि बस्दैन
फुलमती ः आ, के बोल्नु परेको । चुपो लागेर बस्नु नि । जाने भनेपछि जाने जाने नि । केको टिकटिक । उसको छोरोले कतारबाट छिटो कि छिटो घर छोडेर काठमाडू आइज भनेर मर्न आँटो । याँ बाउआमा गनगन गर्छन् ।
बुधनी ः (हातमा अम्खरा बोकेर बाहिर आउँछे) ए, दाने यता आइज । म मुख धोइदिन्छु । छिटो आइज नाति आइज ड्यानियल आउँछ ।
फुलमती ? हेर, हेर बोलेको ड्यानियल नाउँ हुँदाहुँदै दाने भन्नु परेको यस्ता अशिक्षित स्वाठलाई के भन्नु, कसरी नातिलाई दाने भन्न सकेको नाउँ बिगारेर । ड्यानियल छोरो । यता आइज म आफैँ धोइदिन्छु, तिम्रो मुख । तेरो बजुको हातै तेती फोहोर छ ।
बुधुनी ः खै, कस्तो नाउँ राखेको कोनी । मेरो जिब्रै लाग्दैन । म के गरुँ, खालि दाने भन्न मात्र आउँछ । रुन्चे स्वर मार्छे ।
सन्तमान ः चुपो लागेर बस् सोभितेको आमा । तँलाई धेर बोल्नु कल्ले लायो । अब यिनहरू याँ बस्तैनन् । छोरोले उँदोदेखि कमाएर पैसा पठाउँछ । सहरमा बस्छ, खान्छ । तेरो दुःख तैँसँग,मेरो दुःख मैँसँग लामो सास तान्छ ।
फुलमती ः (च्याँठिएर) म सुख गर्न जाने हो र । तिमर्को नाति पढाम्न हो । कति गनगन पनि गर्दो रैछ । मुख पनि नदुख्ने
बुधनी ः पडाम्नलाई यैँ पनि स्कुल नभपो । दुन्याँको छोरछोरीले पढेकै छन् । ठूलो मुन्छे भकै छन् । यल्लाई चैँ खुप लानुपर्ने । हामी के हेरेर बस्नु । हुर्कायो बढायो ऐले छुटाउन लागो ।
सन्तमान ः चुप् लाग् भनेको । कति कराम्न सकेको यो बुढी गनगन गनगन
फुलमती ः कराओ है कराओ । कति कराउँछौ कराओ । एक घण्टापछि त हामी हिन्छौँ । अनि ढलीमली गरेर बस् । तिमर्को कचकच सहनु पर्दैन । सन्नाटा छाउँछ । (नेपथ्यबाट कुकुर भुकेको आवाज आउँछ) फुलमती हातमा सेतो टिसर्ट बोकेर ड्यानियललाई बोलाउँछिन् । ड्यनु ए ड्यानियल कता गयो, छिटो आइज । हिन्ने बेला भो ।
(हातमा कालो ब्याग बोकेर कुमारको प्रवेश)
कुमार ः नमस्कार ¤ (नमस्कार सबैलाई नमस्कार गर्छ) आराम हुनुहुन्छ सबै जनाहरू ? सन्तमान काकाकाकी, बैनी, खै त सानू मान्छेरू ?
सन्तमान ः ए, नमस्कार है मास्टर बाबू हाम्रो पनि । लु, दलानतिरै बसौँ । बुधनीले पिरा ओछ्याइदिन्छे । (कुमार बस्छ)
कुमार ः किन आज अनुहार मलिन पो छ त । के भयो र सुनौँ न एकछिन सन्नाटा हुन्छ ।
बुधनी ः के हुनु र नि मास्टर बाबू । नाति र बुहारीले आजबाट हामीलाई छोड्ने भो । काठमाडू जान्छ अरे । पिर लाग्छ नि ।
कुमार ः ए किन नि ∕
बुधनी ः याँ दुःख भो अनि अरे । उसको छोरो बोर्डिङ पढाम्ने भन्छ । (फुलमतीको प्रवेश)
फुलमती ः ‘नमस्कार सर’
कुमार ः नमस्कार । अनि नानी लेझर काठमाडौंतिर पो जाने रे हो त ∕
फुलमती ः हो सर । यो नानी पढाम्ने बेला भो । उता उसको बाबा पनि काठमाडौं आ बस् भन्छ । त्यसैले, अब उतै पो जाने है । (खिसिक्क हाँस्छे)
कुमार ः अब यस्ता बुढाबुढी छोडेर जान मिल्छ त ? यतै स्कुल छन् । यतै पढाउनू । केटो चलाख छ । हामी पढाइहाल्छौँ नि ।
फुलमती ः आ.. सर ¤ सर्खारी स्कुलको पढाइ ठीक छैन । बोर्डिङको कति राम्रो छ र ।
कुमार ः किन छैन ? राम्रो सरकारी स्कुलको पढाइ एकदम राम्रो छ । तपाईंलाई तेस्तो लागेको मात्र हो । सबै विषय राम्रो छ । ढुक्क हुनुहोस् ।
फुलमती ः बोर्डिङमा पढ्नेले अंग्रेजी फोरर बोल्छ । मेरो दिदीको छोरी बोडिङ पढ्छ । टू वान जा टू भनेर सप्पै सुनाउँछ । सर्खारीमा त छ्या ∕ दई एकान दुई भनेर पडाउँछ । ए, फर एप्पल भनेर पढाउँदैनन सर मिसले । पोहोर काठमाडौं जाँदा दिदी, उसको छोरी र म पशुपति गएको थ्यो, छोरीले बाँदर देखेछउ मंकी ममी, मंकी भन्यो । उसलाई बाँदर भन्ने थाहै छैन । मंकी थाहा छ । हाती, बाख्रा, सुँगुर, सुन्तला थाहै छैन सइलिफेन्ट, गट्, पिग, ओरेन्ज थाहा छ । त्यस्तो पो पढाइ हुन्छ त । कुमारतिर हेर्छे, त्यै भएर लाने हो सर । मलाई दुई एकान दुई भनेर पढाको मनै पर्दैन । ड्यानियलको बाजेबोजु यैँ बस्छन्, खान्छ ।
कुमार ः (सम्झाउँदै) हेर्नुस् नानी ¤ बोर्डिङ पढाउँदैमा कोही पनि असल, विद्वान्, वैज्ञानिक बन्ने हैन । आफ्ना नेपाली शब्द बिर्सेर अंग्रेजी सिक्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । स्तरीय शिक्षा हामी यहीँ दिन्छौँ । बेकार काठमाडौँ गएर खर्च नगर्नुस् । भो यात्रा रोक्नुस् । बुढा सासू ससुराको मन नकुढ्याउँनुहोस् ।
बुधनी ः (भक्नानिँदै) हो नि, मास्टर नानी यीँ पढाम भनेको । स्कुल नजिकै छ । छोरा उँधो काँ छ काँ छ । हामीलाई फुन पुनि गर्दैन । के गरी निष्ठुरी भझल्को खालि उसको स्वास्नीसँग मात्रै बोल्छ । एकहोरो मया के गर्नु, आँखाबाट आँसुका थोपा तपतप चुहिन्छन् ।
सन्तमान ः नकरा बुढी नकरा । अब जान्छु भनेर खुट्टो उचालेपछि किन बस्थो । जान दे । तेरो छोरोलाई बोलाको हो । कति पैसा कमाइ रछ त्यो सक्नलाई हो । नकरा । भो हुन्दे । बुढाबुढी बसौँला । काल पर्खौँला खोक्छ ।
फुलमती ः हैन, कति कराको हौं यो बूढाबूढी, मेरो कानको कीरा खाइसक्यो । एक थाल खानु मरिरनु नि ∕ कुमारतिर फर्केर यिनकै गनगन र कचकचले पनि म नबस्ने । अब जाने । छोरोलाई बोर्डिङ पढाउे, एताहुँदीका भुराजस्तो मेरो छोरो दुई एकान दुई भनेर पड्दैन ‘सटु वान जा टु’ भनेर पढ्छ । टाई लाएर स्कुल जान्छ । गाडीमा जान्छ । टिफिन बोक्छ । अंग्रेजी बोल्छ । स्कुल जाँदा टाटा बाई बाई भन्छू । बाजे बजु भन्दैन । ग्रेण्ड पा ग्रेण्ड ममू भन्छ । सरकारी स्कुलमा त बुद्धि नभएकाले पो पढाउने त सर ।
(शम्भुको प्रवेश)
शम्भु ः कुमार सर नमस्ते ¤ सबैलाई नमस्कार है ¤
कुमार ? नमस्ते सर । (सबैले नमस्कार फर्काउँछन् । बुधनीले पिरा दिन्छे । शम्भु बस्छ ।)
शम्भु ः कुमार सर पनि यतै हुँनुहुँदो रझछ । म पनि घरघर डुल्दै हिँडेको ।
कुमार ः हजुर म पनि पो यतै छु त । तल पुलतिर झरेको थेँ ।
सन्तमान् ? अनि मास्टर भाइ, कति कामले पाल्नु भो ? कैल्यै नआउने मन्छे ।
शम्भु ? म घरघर डुल्दै हिँडेको । अब नयाँ वर्ष लागो । वैशाकमा केटकेटीहरूलाई स्कुलमा भर्ना गर्नुपर्छ । त्यै सुनाउँदै भन्दै हिँडेको । खै त फुलमती बुहारीहरू ? (फुलमती बाहिर आउँछे)
फुलमती ः ए सर, म यतै छु । आज ममी छोरो काठमाण्डू जान लागेको ।
शम्भु : किन नि ∕
फुलमती : (ड्यानियललाई देखाउँदै) एसलाई बोर्डिङ पडाम् भनेर सर ।
शम्भु : (अचम्म मान्दै) ए हे ∕ बूढा भका सासू ससुरा छन् । छोरो यैँ पढाउनू नि ∕
फुलमती : काँ हुन्छ सर ¤ बोर्डिङ भनेको बोर्डिङ हो । कति राम्रो फरर अंग्रेजी बोल्छन् । म त उतै लाने । बुढाबुढी यैँ बस्छ खान्छ । बोसिरन्छ । के छ र काम यिनको ।
शम्भु : फुलमती नानी ¤ तिमीले कुरो नबुझेको हो । बोर्डिङ भन्दैमा पढाइ राम्रो हुने होइन । फेरि टुटेफुटेको एक÷दुई शब्द अंग्रेजी बोल्दैमा ल्यालेन्ट भयो भनेर नसोच्नू । सरकारी स्कुलको पढाइ बोर्डिङको भन्दा राम्रो छ । सरकारी स्कुलमा पढेका मान्छेहरू नै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चरचित छन् । उनीहरूले जीवनपयोगी सीप सिकेका हुन्छन् । सामाजीकीकरण छिटो हुन्छन् । कलाधर्म संस्कार संस्कृतिका जानकार हुन्छन् । भूगोल बुझ्छन् । आफ्नो भाषाको गहि¥याइ बुझ्छन् । राजनीतिलाई बुझेका हुन्छन् । मैले सबै बोर्डिङ स्कुल खत्तम छन् भनेको होइन । कुनै कुनै अति राम्रा पनि छन् । तर त्यस्तामा पढाउँने तिम्रो पहुँच पुग्दैन । अहिले च्याउ उम्रेजस्ता बोर्डिङमा हो पढाउने । तिनले पैसामात्र तान्छन् । भाइले कतारमा दुःखले कमाएको पैसा स्वाहा हुन्छ । विचार गर । यतै पढाऊ कसो ।
कुमार : शम्भु सरको कुरो ठीक छ । यतै भर्ना गर्नू ।
फुलमती : (अलि झर्केर तर सानो स्वरले) भो छोड्नुस् यो कुरा मलाई पनि थाहा छ सर । एक वर्षपछि मेरा ड्यानियल छोरा कुमार सरसँग अंग्रेजी बोल्छ । बुझ्नु भो, अंग्र्रेजी बोल्छ । सरखारीमा पडाम्दा बार पास गर्दा पनि बोल्दैन । तेसैले छोरो स्कुल पड्दैन, बोर्डिङ पड्छ । ठूलो मान्छे हुन्छ । कुमार गम्भीर हुन्छ । शम्भु बूढाबूढीको मलिन अनुहार हेरिरहन्छ ।
बुधनी : बाउआमाको मन छोछोरीमाथि, छोराछोरीको मन ढुंगामुढामाथि ¤ (लामो सास तान्छे) हाम्रो पालोमा स्कुल थेन । पढ्न पाएन ।
(धनिसराको प्रवेश)
धनिसरा : लहै नमस्कार नमस्कार ¤ (सबैलाई सबैले नमस्कार फर्काउँछन्) ल, सरहरू पनि यतै, बाजेबजु के छ खबर । ओइ फुलमती के गर्दैछस् बाहिर आइज । आज आमा समूहको मिटिङ छ जानुपर्छ ।
सन्तमान : काठमाण्डू जान लागो आमा छोरो
धनिसरा : किन नि ∕
बुधनी : याँ दुःख भो नि ∕ हामी बुढाबुढी ।
कुमार : यो आधुनिकताको प्रभाव हो ।
शम्भु : यो मैलाउँदै गएको विकृति हो ।
कुमार : यो पुस्तान्तरको विशेषता पनि हो ।
शम्भु : यो आदर्श गुम्दै गएको अवस्था हो।
कुमार : मान्छेको क्रयशक्ति बढेको संकेत पनि हो ।
शम्भु : जे भए पनि यो देखासिखी हो ।
कुमार : पारिवारिक दायिŒव गुम्दै गएको अवस्था हो ।
धनिसरा : होइन जे भन्नुस् यो छाडापन हो । यस्ता बूढाबूढीलाई छोडेर कोइ हिँड्छ । हिँड्न मिल्छ । यतै हुँदी छन् पढ्ने स्कुल । विदेशमा कमाको पैसा सक्नलाई । (फुलमतीलाई बोलाउँछे, फुलमती आउँछे ।)
फुलमती : किन ? अब म ता हिँड्ने हो । झोला मिलाइसकेँ । बैठकसैठकको मलाई चासो भएन अब ।
धनिसरा : तेरो बुद्धि रै’छ वहाँ पसिनाको धारासँग साटेको पैसा काठमाण्डूमा बसेर फेसबुक र किरिमपाउडरमा सक्ने भइस् । याँ बूढाबूढीको बिजोक उता तेरो मोज । बुहारीको बुद्धि ¤ तँ त उतै पोइल जान के बेर ।
फुलमती : म जे गरौँगरौँ तिमीलाई के चासो । प्यारप्यार नगर है । हिँड्ने तरखर गर्छे ।
सन्तमान : भो भो नबोल ।
बुधनी : चुपलाग, चुपलाग नानीबोलेर सकिँदैन । जाँ जान्छ, जाओस् । नातिलाई कसोरी बिर्सने हो ।
फुलमती : (झोला बोक्छे) ड्यानियल पाठासँग खेल्दै छ । (नेपथ्यबाट सानो संगीतको आवाज आउछ ।)
फुलमती : छोरो हिँड्न पाठा छोड् । (बुधनी आँखाभरि आँसु पार्छे । थैलीबाट झिकेर नातिका हातमा बेरेका एकमुठी पैसा दिन्छे । नातिका निधारमा कालो टीको लाउन खोज्छे) पर्दैन तेस्तो टीको लाउन, पर्दैन । ढिलो भइसक्यो, बेकारमा ।
(बुधनी रुन्छे । सन्तमानका आँखामा आँसु टिलपिलियाउँछन् । पाठो म्याँम्याँ गर्दै ड्यानियललाई पछ्याउँछ । फुलमतीले सिर्कनाले हिर्काएर पाठो फर्काउँछे । बुधनी आँगनका डिलबाट परसम्म हेरिरहन्छे ।)
सन्तमान् : अब काल पर्खिनु गारो भो नरो है बुडी नरो के गर्छस् त अब ? (कुमार, शम्भु, धनिसरा स्तब्ध हुन्छन् पँखेटा फ्याटफ्याट पार्दै भाले कुखुरी काँझनिरस आवाज उराल्छ ।)
पटाक्षेप
प्रस्तुत नाटकका पात्रहरू, घटना, परिवेश काल्पनिक हुन् । कसैको नाम वा प्रसंग मिल्न गएमा संयोगमात्र मानिनेछ ।
थुलुङ दूधकोशी गाउँपालिका–३, पञ्चन, सोलुखुम्बु



















