मानिस र पशु एउटै मुहानको पानी पिउँदै

बडीकेदार(बगडा) । डोटी जिल्लाको बडीकेदार गाउँपालिका–३, घाङलबाट झण्डै तीन घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ बगडा । झट्टै हेर्दा देखिने सुन्दर गाउँ बगडा बुझ्दै जाँदा समस्या नै समस्याको चुंगुलमा जकडिएको छ ।  

यातायातको सुविधाबाट टाढा रहेका बगडा बासीले थुप्रै समस्याका बाबजुत आफ्नो दैनिकी जिउन बाध्य छन् । यातायात, स्वास्थ्य, शिक्षाबाट बञ्चित रहेका बगडाका स्थानीयहरुको सबैभन्दा ठूलो समस्या हो स्वस्थ पिउँने पानीको । 

१९ घरधुरी रहेको बगडा गाउँमा पानीको नाउँमा एउटा मात्र मूल छ । गाउँबाट झण्डै एक घण्टाको उकाली–ओराली पैदल यात्रापछि पुग्न सकिन्छ मूल । पानी अभावका कारण धेरैजसो बगडा बासीहरु कृषिभन्दा पशुपालन पेशा रोजेका छन् । 

अधिकांस बगडा बासीहरुको घरमा कुखुरा, खशी, भैसी छन् । घरमा पालिएका पशु बेचेर आधारभूत आवश्यकताको परिपूर्ति गर्दै आएका बगडा बासीलाई पशुका लागि पानीको जोहो गर्न हम्मेहम्मे पर्छ । 

गाउँ मै रहेको एउटा मात्र मुहानको पानी पिउँदै आएका बगडा बासी सोही मुहान कै पानी पशुलाई खुवाउने गर्दछन् । गाउँभन्दा टाढा रहेको मुहानमा बगडा बासी मात्र निर्भर छैनन् सोही मुलमा निर्भर रहेका छन् पशु पनि । सोही मुलको पानी पशुचौपायादेखि मान्छे समेतले पिउँदै आएका छन् । 

पुर्खौदेखि सोही मुहानमा निर्भर रहेका बगडा बासी किरा, माछा संगै धमिलो पानी पिउँदै आएका छन् ।

स्थानीय कर्णबहादुर बमले गाउँमा रहेको एउटा मात्रै मुहानमा गाईभैसी, बाख्रा, कुकुरदेखि मान्छेले समेत सोही मुहानको पानी पिउँदै आएको बताए । पानीको अन्य श्रोत नहुँदा फोहोर भएपनि पानी पिउँदै आएको बमको भनाइ छ । पानी फोहोर छ भनेर जान्दा जान्दै अन्य बिकल्प नहुँदा सोही मुहानको पानी पिउँदै आएको बमको भनाइ छ । ‘पानी देखिदैमा फोहोर छ तर के गर्नु बिकल्प छैन’, कर्णबहादुर बमले भने, ‘मुलमा रहेको किरा माछाले खान्छ भनेर मुलमा माछा हालेर पानी पिउँदै आएका छौ ।’ ‘पूर्खाले यहि पानी पिएर बाँचे हामी पनि यहि पानी पिउँदै बाचीरहेका छौ’, बमले भन्नुभयो, ‘गाउँ नै यही मुहानले जोगाएको छ ।’

पिउने पानी घरसम्म ल्याउन केटीकेटीलाई डेढ घण्टा र बयस्कलाई एक घण्टा जति लाग्ने गरेको स्थानीय सेतुराम ओलीले बताए । बिहान चार बजेदेखि लाईन लागेर पानीको जोहो गर्छौ सेतुराम ओलीले भने, बिहान छिटो पुगे अली राम्रो पानी भेटिन्छ नत्र माटो नै माटो मिसिएको धमिलो पानी । हरेक पटक चुनावमा नेताहरु स्वच्छ पिउँने पानीको ब्यवस्था गर्छु भनेपनि चुनाव जितिसके फर्केर नआउँने गरेको ओलीको भनाइ छ । हरेक चुनाबमा खानेपानीको बारेमा कुरा उठाउँछौ हुन्छ भन्छन् तर, जितेपछि फर्केर आउँदैनन् ओलीले भने, ‘नेताबाट ठगिएको गाउँ ।’ 

बडीकेदार गाउँपालिक वडा नम्बर ३ का अध्यक्ष लिलाधर सापकोटाले बजेट अभावका कारण समस्या समाधान गर्न नसकिएको बताए । समस्याबारे हामीलाई थाहा छ सापकोटाले भने, अब चाँडो खानेपानी पु¥याउँछौ । 

तीन घण्टाको पैडल यात्रापछि स्वास्थ्य चौकी

पिउँने पानीको चरण अभाव भोगिरहेका बगडा बासीहरुका लागि अर्को ठूलो समस्या हो स्वास्थ्य उपचारको । 

गाउँमा कुनै ब्यक्ति बिरामी हुँदा तीन घण्टा पैदल हिडेर घाङल पुग्नुपर्ने हुन्छ । घाङलमा स्वास्थ्य चौकी रहेको छ । 

यातायातको सुविधाबाट बञ्चित रहेका बगडा बासीहरु कोही बिरामी हुँदा पहिले डोकामा बोकेर लग्दै आएको भएपनि आजभोली भने स्टेचरमा बोकेर लग्ने गरेको स्थानिय सेतुराम ओलीले बताउँनुभयो । 

लामो पैदल यात्रापछि स्वास्थ्य चौकी पुगेपनि कहिले काही स्वास्थ्यकर्मी नहुँदा त्यत्तिकै फर्कने गरेको ओलीको भनाई छ । स्वास्थ्यकर्मी नभेटिए पैसा हुनेले धनगढी लैजान्छन् नहुने त्यत्तिकै घर फर्कन बाध्य हुँदै आएको ओलीको भनाइ छ ।