काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन् । संयुक्त टे«ड युनियन समन्वय केन्द्रद्वारा १३०औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पु¥याइएको छ ।”
संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।” मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उनले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको छ भने ।
प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।” अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेकामा खुशी हुनुपर्नेमा समर्थन फिर्ता लिने काम भएको छ आउनुस् मिलेर काम गरौँ भने ।
विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धि हासिल भएको बताउँदै उनले भने, “हामी मिलेर अगाडि बढौँ मिलेर उपलब्धि हासिल गरौँ, मजदूर सङ्गठनबाट सिकेर एकताका साथ अघि बढौँ ।” लगानीका लागि नेपालमा अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले भने, “देशले अहिले सुशासन र विकास खोजे छ, पृथकतावाद टुङ्गिएको छ देशमा शान्ति सुव्यवस्था कायम भएको छ ।”
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताए । उनले भने, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट मात्र सम्भव छ, त्यसका लागि के सत्ता पक्ष के प्रतिपक्ष एक भएर अघि बढ्नु पर्दछ ।” अझै पनि समाजवादी कि पूँजीवादी बाटोमा अघि बढ्ने भन्ने चुनौती रहेको बताउँदै अध्यक्ष प्रचण्डले संविधानको मौलिक हकमा उल्लेखित विषयवस्तु कार्यान्वयनमा चुनौती भए पनि त्यसलाई अवसरका रुपमा लिएर अघि बढ्न सक्नुपर्छ भने ।
राजनीतिक परिवर्तनको आन्दोलनमा श्रमिकको बलिदानीपूर्ण योगदान नभएको भए अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन भन्दै उनले अझै पनि ठूलो सङ्ख्यामा अभाव र अपमानमा बसेका मजदूरको हितका खातिर कम्युनिष्ट आन्दोलन आक्रमकरुपमा अघि बढिरहेको बताए ।
उपप्रधानमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र प्राप्तिका लागि मुलुकमा भएका हरेक आन्दोलनमा श्रमिक वर्गका श्रम र पसिना बगेको बताए । उनले भने, “सामाजिक सुरक्षा र श्रमिकको हित तथा अधिकारका लागि कानून बने पनि व्यवहारमा लागू गर्न निकै चुनौती छ, श्रमको सम्मान गर्ने विधि र प्रणाली हामीले स्थापित गर्न आवश्यक छ ।”
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र पुग्दैन अधिकार हस्तान्तरण हुन आवश्यक छ भने । उनले भने, “भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई खबरदार उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्, तर विपक्षका लागि अरिगाल उत्पादन र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।”
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी पाँच वर्ष्भित्रमै काम विशेषले बाहेक बाध्यात्मक परिस्थितिले रोजगारीका लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले भने, “श्रमिकमाथि कुनै नाममा हुने शोषण अन्त्य गर्न सरकार प्रतिबद्ध छ, सामाजिक न्यायसहितको सुरक्षा ऐन कार्यान्वयन गरिनेछ, लगानीमैत्री वातावरण र गुणस्तरीय रोजगार तयार हुनेछ ।”
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले मात्र विकास सम्भव नहुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप काम गर्न सरकारलाई सुझाव दिए । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पारेका थिए ।
‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्रा्ष्ट्रिय मजदूर दिवस यहाँ मनाइएको हो । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पु¥याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो । रासस




















