मजदुर दिवसमा पाइँदैन ज्याला !

काठमाडौं । बुधबार विश्वभर १३० औं श्रमिक दिवस मनाउने तयारी भइरहँदा एकदिन अघि सिन्धुली घर भई भक्तपुर चाइनिज इँटाभट्टामा माया तामाङ इँटाको चाङ लगाउँदै थिइन् । करिब १० वर्षदेखि इँटाभट्टामा अस्थायी रूपमा काम गर्दै आएकी मायालाई मजदुर दिवसबारे केही पनि थाहा छैन । उनले भनिन्, ‘मजदुर दिवस छोरीले सम्झाई, मजदुर दिवसमा के गर्छन् थाहा छैन ।’ मजदुर दिवसमा छोरीको स्कुल छुट्टी हुने उनले थाहा पाइन् । 

माया कुनै संघ संगठनमा आबद्ध पनि छैनन् । ‘मजदुर दिवसमा सबैको बिदा हुन्छ भन्छन्,’ मायाले भनिन्, ‘हाम्रो त काम गरेपछि मात्रै पैसा आउँछ,  मजदुर दिवस पनि पैसा हुनेले नै त मनाउने होला ।’ मायाले काम नगरेको दिन पैसा पाउँदिनन् । बिदा भए पैसा आउँदैन । ‘काम नगरेर पनि ज्याला पाउने दिन कहिले आउला र ¤’ माया भन्छिन्, ‘एक दिन काम नगरे साँझ चुलोे बल्दैन ।’ उनले सरकारले आफूजस्तो मजदुरले हप्तामा एक दिन बिदा पाउने र त्यस दिनको पनि पैसा पाउने व्यवस्था गरिदिनुपर्ने माग गरिन् । 

१५ वर्षअघिदेखि बौद्ध पीपलबोटमा जुत्ता सिलाउँदै आएका रामेछापका कान्छा विकलाई पनि मजदुर दिवस थाहा छैन । उनी हरेक दिन  पीपलबोटको फेदमा ग्राहकको पखाईमा बसिरहेका हुन्छन् । कान्छा भन्छन् ‘पढ्न लेख्न पाइएन कसैले भनेपछि थाहा हुने हो, जुत्ता सिलाउन आउनेले दिवस भनेर ५ रुपैयाँ बढी दिँदैन । अनि कसरी थाहा हुनु ¤’ 

गोठाटारमा घर बजाउने काममा मजुदुरी गर्दै भटिएका कालु तामाङलाई भने मजदुर दिवस थाहा छ तर उनलाई छुट्टी छैन । ठेकेदारले मजदुर दिवस मनाउन छुट्टी नदिने सूचना दिएको छ । ‘मजदुर दिवसको दिनमा हामी मजदुरहरूलाई छुट्टी दिनुपर्ने हो’ उनले भने, ‘के गर्ने काम नगरे, ज्याला आउँदैन ।’ सुकिलामुकिला देखिने मजदुरहरूले मजदुर दिवसमा चर्का नाराबाजी, भाषण गरे पनि वास्तविक मजदुरको पीडा भने जस्ताको तस्तै रहेको उनको भनाइ छ । 

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । सन् १८९० देखि हरेक वर्ष मे १ तारिखका दिन श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा भने विराटनगरमा २००७ सालमा मजदुर आन्दोलन भएसँगै यो दिवस मनाउन थालिएको हो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिने गरेका छन् । 

श्रमजीवी ट्रेड युनियन महासंघले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा काठमाडौंमा विशेष अन्तरक्रिया, सम्मान तथा जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । संसारभरका श्रमजीवी मजदुरहरू एक हौं भन्ने मूलनाराका साथ देशभरका श्रमजीवी मजदुरको हितमा काम गर्ने उद्देश्यले भए पनि अवस्था धेरै सुधार हुन नसकेको श्रमजीवी ट्रेड युनियन महासंघका अध्यक्ष रामबहादुर तामाङको भनाइ छ  ।  

वर्तमान सरकारले श्रमजीवीको लागि नयाँ कार्यक्रम ल्याए पनि मजदुरहरूको हितमा कार्यान्वयन हुन नसकेको तामाङको भनाइ छ । उनले भने, ‘सरकारले गरिबी कार्ड ल्यायो तर धनीहरूले नै लिए, जो सच्चा मजदुर हो त्यसको उत्थान कहिल्यै नहुने भयो ।’ उनले श्रमजीवी मजदुरहरूका लागि सरकारले तोकेको न्यूनतम ज्याला पनि पाउन नसकेको बताए । श्रम शोषणमा परेका श्रमजीवीहरूलाई न्याय दिलाउन तलबभत्ताको अनुगमन हुनुपर्ने उनको भनाइ छ । सामाजिक सुरक्षा कोषमा सबै मजदुरलाई आबद्ध गराउन सरकार कडाइका साथ लाग्नुपर्ने उनको सुझाब छ ।