काठमाडौं । प्रहरीले ललितपुरबाट श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ बिसंखु गोदामचौरमा भाडामा बस्दै आएका ४२ वर्षीय जयबहादुर वाइबा श्रीमतीको हत्या आरोपमा पक्राउ परेका हुन् । वाइबाले ४१ वर्षीया श्रीमती मनमाया वाइबाको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख (डिएसपी) गौतम मिश्रले बताए । उनीहरू सिन्धुलीका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा खुर्पासहित नियन्त्रमा लिइएको डिएसपी मिश्रले बताए । उनले प्रहरीसमक्ष श्रीमतीले आफूलाई सधैं यातना दिने गरेका कारण हत्या गरेको बयान दिएको जनाइएको छ । जयबहादुर काँचो इँटा बनाएर बेच्ने काम गर्थे । उनमा मानसिक समस्या रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।
यस्तै, श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा रौतहटबाट पनि एकजना पक्राउ परेका छन् । जिल्लाको माधवनारायण नगरपालिका–३ सखुवा बस्ने २६ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् । प्रहरीका अनुसार अनिलले २१ वर्षीया श्रीमती रमिता साहलाई सोमबार राति कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचारका क्रममा रमिताको मृत्यु भएको प्रहरीले जनाएको छ ।




















