बझाङ । सशस्त्र द्धन्द्धले दिएको घाउ बोकेका घर र परिवारबाट बिछोडिएका एक किशोर बझाङको खप्तड छान्ना गाउँपालिकामा भौतारी रहेका छन् । करिब ५ बर्षको उमेरदेखि घर छोडेर हिडेका उनलाई आफ्नो घर रोल्पा भन्ने बाहेक अरु केही थाहा छैन । करिब ५ बर्षको उमेरमा बुवाको पछि लागेर हिडेका उनलाई कुन घुम्तीमा परिवार बिछोडियो त्यो पनि जानकारी छैन ।
अहिले १८ बर्ष उमेर पुगेका ती युवालाई न बुवा आमाको नाम थाहा छ न त गाउँको नाम नै संम्झन सक्छन । उनले भने ‘सानोमा घरमा मलाई काले भन्थे , खोलाको छेउमा घर थियो ,अलि माथि स्कुल थियो । एउटी दिदी थिईन उनलाई सायद माओवादीले नै होकी कस्ले मारेको सम्म उनलाई थाहा भएको बताए । उनको नाम मनकुमारी हो । एउटा भाइ छ । उसको नाम तुफान सिंह हो । खप्तडछन्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाको सम्पर्कमा आएका किशोरले भने ‘घर छेउमा चिउराघाट खोला थियो । त्यसैबाट बाबाले माछा मारेर ल्याउने गरेको उनले बताए ।
उनी परिवारबाट बिछोडिए पछि कैलालीका मजदुरहरुसंगै मजदुरी गर्दै आएका छन् । बझाङको खप्तड छान्ना गाउँपालिकामा निर्माण हुन लागेको गाउँपालिकाको भवन निर्माण कार्यमा संलग्न भई रहेका बेला खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायालाई उनले घर पत्ता लगाई दिन आग्रह गरेपछि यो कुराको खुलासा भएको हो ।
बालापनमा दुखको पहाडले थिचिएर परिवारको माया बिना हुर्किएका उनी अहिले भने घर फर्कन चाहान्छन् । तर घर कहाँ हो आफैलाई थाहा छैन । मंगोलियन अनुहारका किशोर कसैले घर सम्म र्पुयाईदिए हुन्थ्यो भन्ने अपेक्षामा छन् । ‘घर माथिको स्कुलमा माओवादीले सामान राखेका थिए । पछि सेना आएर जलाई दिएको उनलाई थाहा छ ।
हिउँदको समयमा घर माथि हिउँ परेको देखिन्थ्यो र गाउँ भन्दा माथी स्याउ फल्छ भन्ने सम्म मात्र उनलाई सम्झना छ । अरु केही याद छैन । ती युवाले भने – म परिबार संगै बस्न चाहन्छु । रोल्पाबाट माओवादीले दाङ ल्याएको उनलाई अलि अलि सम्झना छ । त्यस पछि बिचमा भागेर गाडीमा अत्तरिया आएर कैलालीमा मजदुरी गरी रहेकाहरुसंग भेट भएपछि निरन्तर १३ बर्ष देखि उनी मजदुरहरु संगै मजदुरी गरी रहेका छन् ।
द्धन्द्धका समयमा राज्य पक्ष र बिद्रोही पक्ष कसको चेपुवामा परेर कालेको परिवार बिछोडियो अनि उहाँको घर कहाँ हो । अहिले घरमा को को छन् भन्ने बारे केही खुल्न सकेको छैन । खप्तडछन्ना अध्यक्ष बर्क बहादुर रोकायाले भने ‘रोल्पामा बिभिन्न निकायसंग समन्वय गरिरहेको छु , कतैबाट केही कुरा आयो भने आफै लगेर परिवारको जिम्मामा लगाउने सोच बनाएको छु । परिवारबाट सानै छँदा बिछोड भएका उनलाई घर पत्ता लगाई आफन्तको जिम्मा लगाउन पहल गर्ने उनले बताए ।




















