काठमाडौं । सन् २०१७ मिस नेपाल निकिता चाण्डक भारतको चर्चित कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’ मा पुगेकी छिन् । आजसम्म कुनै पनि नेपाली कलाकार उक्त स्टेजमा पुगेका थिएनन् तर निकिताले विशेष अतिथिको रूपमा उक्त स्टेजमा चढ्ने मौका पाएकी हुन् । चाँडै अभिनेता विराज भट्टसँग फिल्म ‘साङ्लो’ मा रोमान्स गर्न लागेकी उनले ‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तस्वीर इन्स्टाग्राममा साझेदार गर्दै आफूलाई शोमा अतिथिको रूपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् । उनले किकुको पनि प्रशंसा गरेकी छन् ।
‘मलाई ‘द कपिल शर्मा शो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’ निकिताले लेखेकी छिन् । निकिताले किकुकै भ्यानेटी भ्यानमा तस्वीर क्लिक गरेकी हुन् । निकिताले डेब्यु चलचित्रको रूपमा ‘रानी महल’ साइन गरेकी थिइन् । तर, यो चलचित्र आधा छायांकन नसकिँदै निर्माता र निर्देशकको लफडाका कारण अड्किएको छ । अब उनी विराजसँग काम गर्ने तयारीमा छिन् ।

















