शिक्षा मानवमात्रको पहिचान हो र विकासको मुहान हो । शिक्षा मूलतः दुई प्रकारको हुन्छ । एउटा साधारण वा सैद्धान्तिक शिक्षा र अर्को प्राविधिक वा व्यावसायिक शिक्षा । वर्तमान परिप्रेक्ष्यमा साधारण वा सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक वा व्यावसायिक शिक्षा बढी व्यावहारिक र रोजगारीका दृष्टिकोणले बढी उपयोगी हुने देखिएको छ । नेपालको सन्दर्भमा साधारण वा सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक वा व्यावसायिक शिक्षाको औचित्य र आवश्यकता बढी छ । कारण व्यावसायिक शिक्षा सीपमूलक र रोजगारमुखी हुन्छ भने सैद्धान्तिक शिक्षाबाट बौद्धिक ज्ञान त प्राप्त हुन्छ तर रोजगार वा अर्थोपार्जनका दृष्टिले भने अलिक असान्दर्भिक र अव्यावहारिक देखिएको छ ।
कुनै पनि मुलुकले समयको माग र आवश्यकताअनुरूप शिक्षा प्रदान गर्न सक्नुपर्छ । समयको माग र आवश्यकताअनुरूप यदि शिक्षा प्रदान गर्न सकिएन भने समाजमा विभिन्न प्रकारका विकृति र विसंगति जन्मिन सक्छन् । खासगरी सैद्धान्तिक शिक्षामा मात्र जोड दिने गर्नाले देशमा शैक्षिक वेरोजगारीको समस्या उत्पन्न हुन पुग्छ । बेरोजगारी समस्या वास्तवमा व्यावहारिक शिक्षाको अभावले गर्दा नै उत्पन्न हुने गर्छ । बेरोजगारी समस्याले निम्त्याउने अन्य विकृति वा विसंगतिका कारण समाजमा बेलाबखत हुने चोरी, लुटपात र आपराधिक गतिविधिमा समेत यसको प्रत्यक्ष वा परोक्ष भूमिका रहने कुरालाई नकार्न मिल्दैन ।
त्यसैले वर्तमान सन्दर्भमा हाम्रा लागि यस्तो शिक्षा चाहिएको छ जसले हाम्रो आर्थिक अवस्थामा सुधार ल्याई आत्मनिर्भरतातर्फ उन्मुख हुन प्रेरित गरोस् । प्राविधिक शिक्षाले व्यक्तिको कार्यकुशलतामा वृद्धि गरी व्यक्ति, समाज अनि सिंगो राष्ट्रलाई आत्मनिर्भर बन्न सघाउ पु¥याउने भएको हुनाले देशमा विद्यमान आर्थिकरूपले सक्रिय जनशक्तिलाई प्राविधिक एवं व्यावसायिक शिक्षा प्रदान गरी दक्ष जनशक्तिको उत्पादनतर्फ जोड दिनुपर्ने खाँचो छ ।
नेपालको श्रम बजारमा अहिले प्रतिवर्ष ३ देखि ४ लाख नयाँ श्रमशक्तिको प्रवेश हुने गरेको बताइन्छ । तर, रोजगारीको अवसर भने अत्यन्त न्यून रहेको छ । प्राप्त जानकारीअनुसार मुलुकमा अहिले वार्षिक ४ प्रतिशतका दरले बेरोजगारीको संख्या वृद्धि भइरहेको छ । वेरोजगारको संख्या यसैगरी वृद्धि हुँदै गएको खण्डमा यसले अरू सामाजिक आर्थिक समस्या निम्त्याउने पक्का छ ।
तसर्थ देशमा विद्यमान वेरोजगारीको विकराल समस्यालाई न्यूनीकरण गर्नका लागि प्राविधिक एवं व्यावसायिक शिक्षालाई गाउँगाउँमा पु¥याउनुपर्ने खाँचो देखिएको छ । यसका साथै सरकारद्वारा एउटै छाता संगठनको अवधारणा ल्याई वैदेशिक रोजगारीका लागि बाहिरिएको जनशक्तिलाई समेत आवश्यकताअनुरूप आधारभूत सीपमूलक तालिमको अनिवार्य व्यवस्था गरी उनीहरूलाई वैदेशिक श्रम बजारमा खपत हुनसक्ने अवस्थामा पु¥याउन उपयुक्त नीति नियम लागू गर्नुपर्ने खाँचो देखिएको छ ।
निश्चय पनि नेपालजस्तो गरीब र बेरोजगारी समस्या विकराल भएको मुलुकमा प्राविधिक शिक्षाले ज्यादै ठूलो महŒव राख्छ । मुलुकमा एकातर्फ विकास निर्माणका लागि दक्ष जनशक्तिको अभाव खड्किरहेको छ भने अर्कोतर्फ साधारण शिक्षा हासिल गरेका शिक्षित बेरोजगारको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गइरहेको छ । त्यसैले शिक्षा सीपमूलक र रोजगारमूलक हुनुपर्ने टड्कारो खाँचो देखिएको छ । त्यसैले वर्तमान सन्दर्भमा श्रमप्रतिको सामाजिक सोचाइमा परिवर्तन ल्याई सीपमूलक अथवा रोजगारमूलक शिक्षाप्रति कसरी सम्मान र आकर्षण बढाउने भन्नेतर्फ सम्बन्धित निकायको गम्भीर ध्यान पुग्नुपर्ने खाँचो देखिएको छ ।
यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को महŒवपूर्ण भूमिका रहन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मुलुकको एकमात्र राष्ट्रियस्तरको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रदान गर्ने र संयोजन गर्ने संस्था मानिन्छ । हाल यसले निम्न र मध्यमस्तरका प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्य गरिरहेको छ । प्राप्त जानकारीअनुसार हाल यस परिषदअन्तर्गत नेपालका निजी शिक्षालयमा हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, जेटिए, भेटनरी, कृषि, फार्मेसी, दन्त चिकित्सा, नेत्र चिकित्सा, ल्याब टेक्निसियन, इलेक्ट्रिसियन, मेकानिकल, प्लम्बिङ, कम्प्युटर, होटल म्यानेजमेन्ट आदि विषयमा तीन वर्ष डिप्लोमा तहदेखि छोटो अवधिमा दुईहप्ते, चार हप्ते र दुई महिनेलगायत प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम सञ्चालन भइरहेका छन् ।
यसका साथै परिषद्ले महिला, गरीब, दलित, जनजाति, मुक्त कमैया, बादी, अपांग, दुर्गम क्षेत्रका बासिन्दा एवं सुविधाविहीनलाई यस किसिमको शिक्षा तथा तालिम कार्यक्रममा विशेष प्राथमिकता दिई सहभागितामूलक तालिमतर्फ जोड दिएको छ भने परम्परागत सीप र प्रविधिको स्तर निर्धारण गरी त्यसको प्रवद्र्धन र प्रोत्साहन गर्ने नीति रहेको बुझिएको छ ।
तथापि यति हुँदाहुँदै पनि परिषद्ले सम्बन्धन प्रदान गरेका कतिपय प्राविधिक अथवा व्यावसायमूलक संघसंस्थाले उत्पादन गरेको र परिषद् आफैँले उत्पादन गरेका कतिपय प्राविधिक जनशक्ति रोजगारको बजारमा बिक्न सकिरहेका छैनन् भन्ने गुनासो बेलाबखत सुन्ने गरिएको छ । यस्ता जनगुनासालाई परिषद्ले गम्भीर ध्यान दिँदै तालिमसम्बन्धी कार्यक्रमलाई बढी गुणस्तरीय र प्रभावकारी तुल्याउँदै लान आवश्यक देखिन्छ ।
आजभन्दा झण्डै साडे चार दशकअघि लागू गरिएको नयाँ शिक्षा योजना २०२८ ले पनि प्राविधिक तथा व्यावसायिक शिक्षामा विशेष जोड दिएको थियो । तर, नीति र योजना राम्रो भएर पनि फितलो राजनीतिक प्रतिबद्धता एवं जनचेतनाको कमीले गर्दा त्यसको सफल कार्यान्वयन हुन सकेन र त्यो त्यत्तिकै तुहिएर गयो । अहिले आएर फेरि यसको आवश्यकता र महŒवका बारेमा व्यापक चर्चा परिचर्चा भइरहेको छ ।
निश्चय पनि प्राविधिक वा सीपमूलक शिक्षा पाएको कुनै व्यक्ति वा नागरिकबाटै देशलाई आर्थिकरूपमा टेवा पुग्न सक्छ र यसबाट देशमा विद्यमान शैक्षिक वेरोजगारीको समस्याबाट समेत देशले राहत पाउन सक्छ । यो कुरा विश्वका धेरै मुलुकको उदाहरणबाट स्पष्ट भइसकेको छ । त्यसैले देशमा विद्यमान शिक्षित वा अशिक्षित बेरोजगारी समस्याको निराकरण एवं आर्थिक स्वावलम्बनका लागि भरपर्दो विकल्प भनेको प्राविधिक वा व्यावसायिक शिक्षा नै हो भन्न सकिन्छ ।
प्राविधिक वा व्यावसायिक शिक्षाले व्यक्तिलाई दक्ष र सीपयुक्त तुल्याई आत्मनिर्भरतर्फ डो¥याई सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ वर्तमान सरकारको नारालाई सफलीभूत तुल्याउन महŒवपूर्ण योगदान पु¥याउनसक्ने कुरामा दुईमत रहने छैन ।


















