काठमाडौं । गायक पशुपति शर्मा पछिल्लो समय ‘लुट कान्छा लुट’बोलको गीतका कारण अत्यधिक चर्चामा रहे । देशको समसामहिक विषयवस्तुलाई उठाएर तीखा शब्द प्रयोग गरेर बनाइएको भन्दै विभिन्न टिकाटिप्पणी चलेसँगै युवासंघका कार्यकर्ताले आफ्नो संगठनको झण्डा प्रयोग गरिएको भन्दै विरोध पनि गरे । तर उक्त गीत कुनै पनि संघसंस्था तथा सरकारी निकायबाट रोक भने लगाइएको थिएन ।
गायक पशुपति देशभित्रका विभिन्न स्टेज कार्यक्रममा निकै ब्यस्त छन् । उनी उक्त गीतपछि झनै व्यस्त देखिएका छन् । दैनिकजसो स्टेज कार्यक्रममा प्रस्तुति दिइरहेका हुन्छन् । अहिले बुटवलमा आयोजित पाँचौं अर्ना राष्ट्रिय खुला रनिङ शिल्ड दोहोरी प्रतियोगितामा व्यस्त छन् । उनी आयोजक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तर्फबाट केही दिनदेखि व्यस्त छन् ।
यसैबीच नवलपुर जिल्लाको देवचुली नगरपालिका ४ मा पर्ने दुम्कौलीमा आयोजित दोस्रो दुेवचुली महोत्सवमा पशुपतिले गएको सोमबार आफ्नो प्रस्तुति दिएका थिए । आफ्नो चर्चित गीत गाएका पशुपतिले पछिल्लो चर्चित गीत ‘लुट कान्छा लुट’ भने गाउन चाहेनन् ।
आयोजकले गायक पशुपति शर्मा आउँदैछन् भन्ने सुचना पहिलेदेखि नै दर्शकमाझ पु¥याएका कारण उक्त गीत दशहजार बढी दर्शकको उपस्थिति थियो । पशुपतिले आफ्नो अन्य चर्चित गीत गाउँदै गर्दा दर्शकको भीडबाट ‘लुट कान्छा गाउनु प¥यो’ भनेको प्रष्ट सुनिथ्यो । सकेसम्म पशुपतिले उक्त गीत गाउन नपरे हुन्थ्यो भन्ने मनशायमा भएको प्रष्ट बुझिन्थ्यो र अन्तिममा दर्शकको आग्रहलाई अस्विकार गर्न नसकेपछि उक्त गीतको दुई लाइनविना ट्रयाक सुनाएका थिए । उनले दुई टुक्का गीत सुनाउँदै गर्दा दर्शकहरूबाट ठूलो हल्ला आएको थियो र ‘वान्स मोर’का शब्द लामै समय सुनिएको थियो ।
पशुपतिले स्टेजबाटै उक्त गीतको दुई लाइन सुनाउनुअघि नै ट्रयाक ल्याउन बिर्सेकाले गाउन सक्दिन भनेर दर्शकलाई निराश बनाइसकेका थिए । साथै उनले आफूले ब्यंग्य गर्दा विभिन्न टिकाटिप्पणी हुन पुगेको भन्दै दर्शकलाई सुनाएका थिए । ‘म अलि बढी कमेडी गर्ने कलाकारमा पर्छु, गीतबाट व्यंग्य गर्न खोजेको थिएँ, लुट्न हुँदैन पो भन्न खोजेको त, अन्य हास्य व्यंग्य कलाकारको प्रस्तुति पनि हेर्छु उहाँहरूका अगाडि मेरो त के हो र’, पशुपतिले स्टेजबाटै भने ।
आयोजकलाई धम्की
सो विषयमा आयोजक संस्थाका अध्यक्ष सापकोटाले आफूलाई कुनै औपचारिक धम्की नआएको बताए । हिमालय टाइम्ससँग कुरा गर्दै भन्छन्, ‘हामीलाई कुनै संघसंस्थाबाट औपचारिक रूपमा पत्र काटेर होस् या अन्य तरिकाबाट होस् खबर आएको छैन, त्यसैले अरू हल्लाको पछि लाग्नु हुँदैन ।’ यस्तै आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका सांस्कृतिक संयोजक सत्यनारायण भुसालले आफूलाई कुसैबाट धम्की आएको विषयमा जानकार नभएको बताए ।
उनले आफू सांस्कृतिक संयोजक भएको हिसाबले कलाकारलाई गीत गाउनुस् र नगाउनुस् भनेर आफूले निर्देशन दिन नमिल्ने भन्दै उक्त गीत गाउन कुनै बन्देज नरहेको बताए । ‘एउटा राष्ट्रियस्तरको कलाकारलाई यो गीत गाउनुस् यो गीत नगाउनुस् भन्न मिल्दैन, उहाँले त्यो गीत किन गाउनु भएन भन्ने विषयमा उहाँलाई नै थाहा होला ।’ सो विषयमा गायक शर्माले आफूलाई धम्कीको विषयमा जानकारी नभएको र ट्रयाक नभएकाले गाउन नसकेको प्रष्ट्याए ।
सोमबार गायक पशुपतिसँगै गायिका सम्झना लामिछाने मगरले पनि प्रस्तुति दिएकी थिइन् । साँझ सात बजेसम्म चलेको महोत्सवमा लाइभ दोहोरी पनि गाएका थिए । दोस्रो देवचुली महोत्सव गएको मंगलबार समापन भएको थियो ।



















