काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिलको कारोबारमा संलग्न २४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजस्व असुल गर्ने मुख्य व्यक्ति जयकिशन साह र परमेश्वर साहलाई पक्राउ गरी अनुसन्धान गरिएको उनीहरूसहित विभिन्न २४ वटा फर्मका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको मंगलबार पत्रकार सम्मेलन गरी जनाएको हो ।
उनीहरूमाथि १ अर्ब ७५ करोड बिगो कायम गरी मुद्दा गरिएको विभागको भनाइ छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार भ्याटको झुट्टा तथा नक्कली बिजक प्रयोग गरी राजस्व चुहावट गरेको सम्बन्धमा परमेश्वर साहलाई माघ ३ गते र जयकिशोर साहलाई माघ ४ गते नियन्त्रणमा लिइएको थियो ।
उनीहरूले ज्याला मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी निजहरूको नाममा कम्पनी खोली त्यस्ता कम्पनीबाट वास्तविक मालबस्तुको खरिद बिक्री कारोबार नै नगरी झुट्टा बिजक जारी गरी राजस्व चुहावट गरेको पाइएको निर्देशक मैनालीले बताए । अनुसन्धानका क्रममा कम्पनीको दर्तावाला व्यक्ति र अन्य कुनै एक आफूअनुकूलको व्यक्तिलाई कर्मचारीका रूपमा राखी खाता सञ्चालन गर्न लगाई संगठितरूपमा राजस्व चुहावट गरेको पाइएको उनको भनाइ छ ।
५ सय फर्मले ४ अर्बको भ्याट बिल बिक्री गरेको र सोबाट ३ अर्बभन्दा बढी राजस्व छली गरेको विभागको अनुमान छ । राजस्व चुहावटको कसुरमा १६७ व्यक्तिउपर बिगो र जरिवानावापत ९ अर्ब ३८ करोड ८४ लाख एवं ३ वर्षसम्मको कैद मागदाबी गरिएको पनि विभागले जनाएको छ । विभागले सुन भन्सार चोरी पैठारीको कसुरमा ३५ केजी सुनसमेत बरामद गरिएको जनाएको छ । त्यस्तै अवैध हुन्डी कारोबारमा ३४ वटा मुद्दामा संलग्न ५९ जनालाई विदेशी विनिमय अपचलन तथा हुन्डीको कसुरमा ४ अर्ब ८३ करोड ७० लाख बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद मागदाबीसहित मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ । विभागले रामेश्वर पूर्वे, मिनादेवी शाह, विजय यादव, मोख्तार अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकुमार दासविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूलाई विदेशी विनियम ऐनअन्तर्गतको कसुरमा मुद्दा दायर गरिएको विभागको भनाइ छ ।
विभागलाई प्रधानमन्त्री कार्यालयमा ल्याएपछि राजस्व छलीका उजुरी बढेको जानकारी दिँदै मैनालीले केही विदेशी लगानीका कम्पनी, अस्पताल र निर्माण व्यवसायीले नक्कली भ्याट खरिद गरेको पनि बताए । विभागले आर्थिक वर्ष २०७५÷०७६ को १० महिनाको अवधिमा राजस्व चुहावटका ५२ कसुरमा अनुसन्धान सकेको जनाएको छ ।


















