पशुपतिमा शिवरात्रिको चहलपहल

काठमाडौं । पशुपतिनाथ मन्दिरमा शिवरात्रिको चहलपहल सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार शनिबार दिउँसोसम्म शिवरात्रि पर्वका लागि ६ हजारभन्दा बढी साधुसन्त आइसकेका छन् । सोमबार शिवरात्रि पर्व मनाइँदैछ ।

आइतबारसम्म पनि साधुसन्त आउने क्रम जारी रहने भन्दै कोषले यस वर्ष विगतको तुलनामा साधुसन्तको भिड बढेको जनाएको छ । भारतको प्रयागराजमा लागेको कुम्भ मेला सकेर साधुसन्तहरू शिवरात्रिका लागि पशुपति आउन थालेका हुन् ।

शिवरात्रिका लागि भारतका विभिन्न क्षेत्रबाट साधुसन्त पशुपति मन्दिरमा आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई निःशुल्क आवास, भोजन, चिया, पानी र धुनी बाल्ने व्यवस्था गरिएको कोषले जनाएको छ । बुधबार सबै साधुसन्तलाई दान–दक्षिणासहित बिदा गरिने जनाइएको छ ।

कोषका सदस्यसचिव डा प्रदीप ढकालका अनुसार महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको भिड व्यवस्थापन गर्न ६ हजार सुरक्षाकर्मी र विभिन्न संस्थाका पाँच हजार स्वयंसेवक परिचालन गरिनेछ । यसैगरी आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिर नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाइएको छ । विभिन्न स्वास्थ्य संस्थाले समेत एम्बुलेन्स सेवासहित शिविर राख्ने कोषको भनाइ छ ।

शिवरात्रिकै तयारीस्वरूप पशुपति क्षेत्रमा एक हप्तादेखि तीनवटै सुरक्षा निकाय, स्थानीय तहलगायत विभिन्न संघसंस्थाले सफाइ अभियान सञ्चालन गर्दै आएका छन् । मन्दिर दर्शन गर्न आउने भक्तजनलाई सहज सुविधा प्रदान गर्ने उद्देश्यले महाशिवरात्रिका दिन पाँच स्थानमा जुत्ताचप्पल राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई मूलद्वार नजिकै चन्दन वितरणको व्यवस्था मिलाइएको छ ।

मूल मन्दिरभित्र कोषकै नेतृत्वमा रात्रिकालीन व्यवस्थासहितको जनशक्ति परिचालन गरिने छ भने हंसमण्डप, वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रमा आवास क्षेत्र तोकेर निःशुल्क भोजन, पानी, चिया वितरणको व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ ।

शिवरात्रिका अवसरमा मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोका हुँदै दुई लाइनबाट दर्शनको व्यवस्था मिलाइएको छ । यस्तै, जयबागेश्वरी–इँट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तीसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट पनि दुई लाइन बनाएर दर्शनको व्यवस्था गरिएको जनाइएको छ । वृद्ध, अशक्तका लागि भने विशेष व्यवस्था गरिने कोषको भनाइ छ ।

आवश्यकताअनुसार तिलगंगा–राममन्दिरतिरबाट समेत एक लाइनको व्यवस्था गर्न सकिने सदस्यसचिव ढकालले बताए । उनका अनुसार शिवरात्रिका दिन पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान सात बजेअघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नु पर्ने व्यवस्था मिलाइएको छ ।

त्यसदिन तिलगंगा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुहृयेश्वरीपारिको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चावहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिनेछ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नसालु पदार्थ बेचबिखनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।