उच्च भूभागमा हिमपात : भोलिसम्म हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बिहीबार दिनभर हिमपात र वर्षा भएको छ । शुक्रबार भने मौसममा सुधार हुने जनाइएको छ । मंगलबारबाट देशका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहे पनि शुक्रबार देशभरिको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात भएको हो । बिहीबारसम्म पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरा र डडेल्धुरासम्म पनि बाक्लो हिमपात भएको छ । देशका विभिन्न भागमा भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा साँखु, गोदावरी, भक्तपुरको दुवाकोट, चाँगुनारायणका बस्तीसम्म हिउँ परेको छ । त्यस्तै चन्द्रागिरि, नागार्जुन, शिवपुरी क्षेत्रका डाँडा सेताम्मे भएका छन् । जाडो जान लागेको समयमा वर्षातसँगै हिउँ परेपछि काठमाडौं उपत्यकामा हृवात्तै चिसो बढेको छ ।

सुदूरपश्चिमको बैतडी, अछाम र डडेल्धुरामा मंगलबारबाट नै हिमपात भएको हो । बैतडीमा हिमपातले इन्टरनेट तथा टेलिफोन सेवा अवरुद्ध भएको छ । विद्युत सेवासमेत अवरुद्ध हुँदा स्थानीय सेवाग्राही प्रभावित भएका छन् । हिमपातका कारण विद्युतका पोल तथा तारहरू चुडिँदा विद्युत सेवा अवरुद्ध भएको हो । सतबाँझ, ग्वाल्लेक, खोड्पे, सिगासधुरा, श्रीभावर, ढोल्यामोड, नाचन्थली, अनारखोली, जित्कीजुँवाडलगायतका क्षेत्रमा भारी हिमपात भएको छ । उता लगातार भएको हिमपातका कारण जुम्लामा पनि जनजीवन प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानमा विद्युतका पोल ढल्दा विद्युत सेवासमेत अवरुद्ध भएको छ । दैलेखमा पनि हिमपातले जनजीवन प्रभावित बनेको छ ।

सोलुखुम्बु जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । हिमाली क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करिब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करिब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

दोलखाको अधिकांश भागमा हिमपात भएको छ । चरिकोट, कालिञ्चोक, कुरी बजार, खरीढुंगा, जिरी, शैलुङडाँडा, च्योर्दुङ लगायतका उच्च भागमा हिमपात भएको छ । वर्षासँगै हिमपात भएपछि चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

१२ वर्षपछि हिमपात

भक्तपुर र बैतडीमा फागुन महिनामा १२ वर्षपछि हिमपात भएको स्थानीयको भनाइ छ । काठमाडौं उपत्यकाभित्रै २०६३ फागुन २ गते हिउँ परेको थियो । त्यो समयमा त्रिपुरेश्वर, न्युरोडसहितका मुख्य भागमै हिउँ परेको थियो । उता बैतडीमा पनि फागुनको मध्यतिर हिमपात भएको यो १२ वर्षपछि पहिलो पटक हो । बैतडीमा १२ वर्षअघि फागुन २ गते भारी हिमपात भएको थियो ।

शनिबारबाट फेरि हिमपात 

मौसमविद् समिर श्रेष्ठले शनिबारबाट पुनः हिमपातको सम्भावना रहेको बताएका छन् । उनकाअनुसार शनिबार अर्को पश्चिमी वायुको प्रवेश भएपछि पुनः मौसम बदली हुनेछ । ‘बुधबार र बिहीबारको पश्चिमी वायु पास भइसक्यो,’ हिमालय टाइम्ससँग श्रेष्ठले भने, ‘शनिबार अर्को वायुले प्रवेश गरेपछि पहाडी तथा उच्च भेगमा फेरि हिमपात हुन्छ ।’ हिमपात हुनलाई पश्चिमी वायुको प्रभावले मात्रै नहुने र अन्य सूचकहरू पनि मिल्नुपर्ने उनले बताए । महाशाखाले शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

शनिबार पश्चिमी र मध्य क्षेत्रमा सामान्य बदली हुने भए पनि पश्चिमी नेपाल र अन्य पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पूर्वी नेपालमा आंशिक बदली भए पनि देशका पश्चिमी उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम र अन्य उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

शनिबार राति देशभर सामान्यतया मौसम बदली हुनेछ भने पश्चिमी नेपालका केही स्थान र अन्य भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।