काठमाडौं एजेन्सीहरू । फेब्रुअरी १४ मा भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा भएको एक आत्मघाती आक्रमणमा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी मारिएपछि एक–अर्काको भूमिमा बम खसालेका भारत र पाकिस्तान बिहीबारदेखि भने नरम देखिएका छन् । गत मंगलबार भारतीय हवाई सेनाले पाकिस्तानको बालाकोटमा बम खसालेको दाबी गरेको थियो । त्यसको बदला भन्दै पाकिस्तानले बुधबार भारतीय भूमिमा बम खसाल्यो । दुवैले एकअर्काका एक–एक लडाकू विमान खसालेको दाबी गरेका थिए । युद्ध चर्कने सम्भावना बढिरहेको बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लगातार भारतसँग वार्ताको पहल गरेका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले पाकिस्तानले युद्ध नचाहेको र वार्ताकै माध्यमबाट समस्या समधान गर्न चाहेको बताएका थिए । उनले भारतलाई वार्ताका लागि आहृवान गरेका थिए । बिहीबार एक कदम अगाडि बढेर उनले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय वायु सेनाका एकजना कमान्डरलाई शुक्रबार रिहा गर्ने बताएका छन् ।
पाकिस्तानी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री खानले भने, ‘हामीले विदेशमन्त्रीस्तरमा भेटवार्ता गर्नुप¥यो भनेर भारतलाई पत्र लेख्यौं तर त्यसको राम्रो जवाफ आएन, भारतमा चुनाव हुँदैछ, त्यहाँको चुनावी अजेन्डामा पाकिस्तानसँगको सम्बन्ध राम्रो होस् भन्ने नै नरहेकाले पनि जवाफ नआएको हुन सक्ने हामीले सोच्यौं ।’ उनले शान्तिको संकेतका रूपमा भारतीय लडाकू विमान चालक क्याप्टेनलाई रिहा गर्न लागिएको बताए ।
युद्धको जस्तो तयारीमा रहेका दुई मुलुक एकाएक शान्त देखिएका भने होइनन् । पुलवामा आक्रमणपछि दुई देशबीच सम्बन्ध बिग्रेपछि अमेरिकाले भारत र पाकिस्तानलाई शान्त राख्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मंगलबार भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा प्रवेश गरेर बम खसालेपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतीय विदेशमन्त्री सुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेशीलाई फोन गरेर शान्ति कायम राख्न आग्रह गरेका थिए । त्यसअघि युरोपेली युनियनले पनि भारत र पाकिस्तानलाई संयम राख्न भनेको थियो ।
बिहीबारमात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनाममा पत्रकारहरूसँग कुरा गर्दै ‘भारत र पाकिस्तानबाट राम्रो खबर आएको’ बताएका थिए । उनले दुई मुलुकबीच शान्ति वार्ता गराउन अमेरिकाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको समेत बताए ।
भारत र पाकिस्तानबीच युद्धको खतरा बढेपछि अन्तर्राष्ट्रिय समुदायको सक्रियता बढेको थियो । यसपछि भारत केही मत्थर भएको अनुमान गरिएको छ । आणविक हतियार सम्पन्न दुई मुलुकबीचको युद्धले दक्षिण एसियामात्र नभएर पूरा विश्वलाई संकटमा पार्ने देखिएपछि सम्भावित युद्ध रोक्न अन्तर्राष्ट्रिय समुदाय सक्रिय भएको हो ।
त्यसो त, पाकिस्तानी प्रधानमन्त्री खानले वार्ताको प्रस्ताव गरेपछि भारतले त्यसलाई सकारात्मक रूपमा लिएर बुधबार साँझै कूटनीतिक प्रयास सुरु गरेको भारतीय अखबार ‘अमर उजाला’ ले जनाएको छ । भारतले सैन्य कारबाही गरेमा पाकिस्तानले पनि कडा जवाफ दिने संकेत पाएपछि भारत पनि एकाएक संयम बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।
मंगलबारदेखि युद्धको जस्तो अवस्था आएपछि भारत र पाकिस्तानको सीमामा उच्च सतर्कता अपनाइएको थियो । बिहीबार पनि सीमा क्षेत्रमा दुवै मुलुकले उच्च सुरक्षा सतर्कता अपनाएको दुवै मुलुकका सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले आफ्नो आकाशमा अरू विमान उडानमा प्रतिबन्ध लगाएको छ । भारतले संवेदनशील भनिएका विमानस्थलमा सतर्कता बढाएको छ । सीमा क्षेत्रमा दुवैतर्फका विद्यालय बन्द गरिएका छन् । अस्पतालहरूमा औषधिको भण्डार बढाइएको छ भने मेडिकल स्टाफको बिदा रद्द गरिएको छ ।



















