काठमाडौं । काठमाडौं उपत्यकालगायत देशैभर बुधबार सामान्यदेखि मध्यमखालको वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसममा बद्ली हुँदा देशका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उच्च पहाडी भूभागमा हिउँ परेको छ । देशका केही भूभागमा साँझसम्म वर्षा भइरहेको विभागले जनाएको छ ।
काठमाडौं उपत्यकामा बुधबार २.२ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । विभागका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेकाले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिएको छ । यस्तै देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । देशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावनासमेत देखिएको मौसमविद् मीन अर्यालले बताए । बुधबार वीरेन्द्रनगरमा सबैभन्दा बढी वर्षा भएको विभागको रेकर्डले देखाएको छ । त्यहाँ न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालगन्जमा पनि १८ मिलिमिटर वर्षा भएको छ । डडेलधुरामा पनि १६.४ मिलिमिटर वर्षा भएको छ । दाङमा १४.४ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी पोखरामा ११.६ मिलिमिटर, दिपायलमा ६.६ मिलिमिटर, सिमरामा ४.६ मिलिमिटर, ताप्लेजुङ र पोखरामा ३÷३ मिलिमिटर, भैरहवामा २.९ मिलिमिटर र ओखलढुंगामा १.६ मिलिमिटर वर्षा भएको छ । बुधबार देशभरको मौसम पूर्णरूपमा खुल्ने सम्भावना नदेखिँदा अझै केही दिन मौसम बद्लीको क्रम रहिरहने मौसमविद् अर्यालको पूर्वानुमान छ । पश्चिमका केही स्थानमा बुधबार रातिदेखि मौसममा सुधार आएपनि मध्य र पूर्वका मौसम भने बिहीबार दिउँसोपछि मात्रै विस्तारै खुल्दै जाने सम्भावना रहेको विभागले जनाएको छ ।



















