हङ्कङ्मा पुरानो बुलेट प्रिमियर

काठमाडौं । चलचित्र ‘पुरानो बुलेट’को वल्र्ड प्रिमियर हङ्कङ्मा सम्पन्न भएको छ । शनिबार हङकङस्थित याउ माई तेइ हलमा फिल्मको ग्राण्ड प्रिमियर गरिएको हो । सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रका लागि हङकङ निवासी नेपाली दर्शकले सकारात्मक प्रतिक्रिया दिए । हालसम्म रिलिज सबै चलचित्रभन्दा भिन्न अबतारमा देखिएका लिड कलाकार अनुपविक्रम शाही, अभिनेत्री द्वय वर्षा शिवाकोटी र माला लिम्बूको कामलाई दर्शकले तारिफ दिएका छन् ।

प्रिमियरमा चलचित्र हेर्ने दर्शकको प्रतिक्रियाले यसै चलचित्रबाट निर्देशनमा पाइला चालेका भीषणलाई नेपाली चलचित्र क्षेत्रको उदाउँदो नक्षत्रको रूपमा उभ्याएको छ । ‘हेल्प फर हृयुमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ आयोजित उक्त ’शो’को प्रदर्शनी जिम्मा तथा व्यवस्थापकिय पाटो अनोज रोका, मज्जाको राई, विजय लिम्बू, सरु राई र सुनिता आंगदम्वेले सम्हालेका थिए ।

चलचित्रमा अनुपविक्रम, वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बू, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । चलचित्रको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोककुमार राई, टीकाराम राई, विरेन साम्बा र दिपेन लिम्बू निर्मातामा छन् । नेपालमा भने यो चलचित्र आउँदो चैत १ गतेबाट प्रदर्शनमा आउँदैछ ।