काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमाथिको आक्रमणले नेपालको निजी क्षेत्रलाई चिन्तित बनाएको छ । लगानीको वातावरण बन्ने क्रममा रहेको र सरकार लगानी सम्मेलनको तयारीमा रहेको वेला भएको यस्तो घटनाले लगानीको वातावरण धमिलिन सक्ने भन्दै निजी क्षेत्रले सचेत पनि गराएको छ । राजनीतिक आन्दोलनको अन्त्यसँगै सबै शक्ति देशको आर्थिक विकासमा केन्द्रित गर्ने प्रधानमन्त्री, शीर्ष दलका नेता र मन्त्रीहरुको मन्तव्यले निजी क्षेत्रलाई उत्साहित बनाएकोमा एनसेल प्रकरणले आशंका जन्माएको भन्दै नेपाल चेम्बर अफ कमर्शले चिन्ता व्यक्त गरेको छ ।
गत शुक्रबार एनसेलका विभिन्न क्षेत्रमा रहेका कार्यालयमा भएको आक्रमणले गम्भीर बनाएको भन्दै विष्फोटमा सलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन पनि चेम्बरले सरकारसँग माग गरेको छ । सरकारले पटकपटक लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्दै आएको र निजी क्षेत्रपनि लगानीमै केन्द्रित रहेको उल्लेख गर्दै चेम्बरले बैंकको ऋणबाट निजी लगानी गर्नसक्ने अवस्था नरहेको पनि स्पष्ट पारेको छ ।
ऋणबाट व्यवसाय विस्तारमात्र नभई पहिलेको ऋणमा पनि बैंकले अप्रत्यासित ढंगबाट व्याजदर वृद्धि गरिदिँदा व्यवसायी आतंकित भएको, मौद्रिक नीतिको समिक्षामार्फत व्याजदरलाई सम्बोधन गर्ने प्रयास गरिए पनि सम्बोधन हुन नसकेको चेम्बरको गुनासो छ । सरकारले पुँजीगत रकम खर्च गर्न नसकिरहेको र सरकारी ढुकुटीमा अर्बांै रकम थन्काउने तर बैंकले तरलता अभावका नाममा व्याजमा बढाबढमा प्रतिस्पर्धा गर्ने गरेकोले यथास्थितिमा निजी क्षेत्रले उद्योग व्यवसाय विस्तार गर्न नसक्ने र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान पूरा हुन नसक्ने चेम्बरको ठहर छ ।
तीनवटै तहको सरकार बनेपछि सरकारी काममा प्रभावकारिता बढ्ने, निजी क्षेत्रले कुनै काम गर्दा हुने झन्जट कम हुने, न्यूनतम शुल्कमा सरकारी सेवा पाइने निजी क्षेत्रको अपेक्षा रहेकोमा अपेक्षाअनुसार प्रतिफल आउन नसकेको चेम्बरले जनाएको छ । कतिपय स्थानीय सरकार विकास निर्माणको बाधकसमेत देखिएको भन्दै दोहोरो, तेहेरो कर प्रणालीबाट मुक्त हुनुपर्नेमा जोड दिएको छ । उल्लिखित विषय सम्बोधन नभएसम्म निजी क्षेत्रको ‘पर्ख र हेर’ कै अवस्थामा रहेन पनि चेम्बरले स्पष्ट पारेको छ । सरकारले आगामी चैत १५ र १६ गते लगानी सम्मेलनको तयारी गरेको छ तर विगतमा लगानीको बाधक देखिएका ऐन कानुन नीति र नियमहरु लगानीमैत्री सुधार गर्नतर्फ यथेष्ट ध्यान पु¥याउन नसकेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघद्वारा निन्दा
नेपाल उद्योग वाणिज्य महासंघले निजी मोबाइल सेवा प्रदायक एनसेल टावर लक्षित फागुन १० गतेको आक्रमणको निन्दा गरेको छ । उक्त आक्रमणबाट काठमाडौंमा एकजनाको दुःखद् निधन भएको र केही घाइतेसमेत भएको घटनाप्रति दुःख व्यक्त आपराधिक कार्यको निन्दा गरेको छ । उल्लिखित घटनाले मुलुकलाई कतातर्फ लैजान्छ भन्नेतर्फ गम्भीर भएर सोच्न पनि महासंघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
देशभित्र राजनीतिक स्थिरता कायम भई आर्थिक विकासको मार्गमा देश अगाडि बढ्ने वातावरण बनिरहेका बेला भएका यस्ता आतंककारी घटनाले मुलुकलाई पुनः एकपटक झस्काएको भन्दै महासंघले चिन्ता प्रकट गरेको छ । यस्ता घटनामा संलग्न व्यक्ति र समूहलाई तत्काल कानुनको कठघरामा ल्याई हदैसम्मको कारबाही गर्न र उद्योग व्यवसायको वातावरण कायम गर्न पनि महाघले सरकारसँग माग गरेको छ ।


















