काठमाडौं । कृषिप्रधान मुलुकमा पाँच महिनामै झण्डै १४ अर्बको चामल आयात भएको छ । त्यस्तै पाँच अर्बभन्दा बढीको मकै, सात अर्बभन्दा बढीको भटमास, ४ अर्बको आलु र दुर्ई अर्बभन्दा बढीको स्याउ आयात भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को पाँच महिनामा उक्त परिमाण बराबरको कृषिजन्य उत्पादन आयात भएको हो ।
अघिल्लो वर्ष अर्थात् २०७४÷७५ मा २९ अर्ब ५३ करोड बराबरको चामल आयात भएको थियो भने आर्थिक वर्ष २०७३÷ ७४मा २३ अर्ब ८७ करोडको आयात भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । चालु आवको पाँच महिना ५ अर्ब १९ करोडको मकै आयात भएकोमा अघिल्लो आव अर्थात् २०७४÷७५ मा १२ अर्ब ५५ करोडको मकै आयात भएको थियो भने २०७३÷७४मा १० अर्ब ६३ करोडको मकै आयात भएको थियो ।
त्यस्तै चालु आवको पाँच महिनामा ७ अर्व ५ करोडको भटमास आयात भएकोमा अघिल्लो आव २०७४÷७५मा १८ अर्ब १५ करोडको आयात भएको थियो भने आव २०७३÷७४ मा १६ अर्ब ९७ करोडको भटमास तथा भटमासको तेल आयात भएको थियो । चालु आवको पाँच महिनामा ३ अर्ब ९९ करोडको आलु आयात भएकोमा अघिल्लो आव २०७४÷७५ मा ६ अर्ब ३५ करोडको र आव २०७३÷७४मा ५ अर्ब ५२ करोडको आयात भएको थियो । त्यसैगरी चालु आवको पाँच महिनामा २ अर्ब ५६ करोडको स्याउ आयात भएकोमा अघिल्लो आव २०७४÷७५ मा ५ अर्ब ६३ करोडको र २०७३÷७४ मा ४ अर्ब ८७ करोडको स्याउ आयात भएको थियो ।
विगत एक वर्ष अर्थात २०७४ पुसदेखि २०७५ पुस मसान्तसम्म पशुपक्षी, पशु उत्पादन तथा सामग्री, पशुजन्य पदार्थ गरी कुल ८ अर्ब ४३ करोड रूपैयाँभन्दा बढीको आयात भएको छ । पशुपक्षी तथा पशु उत्पादन तथा सामग्रीतर्फ ३ अर्ब १२ करोड, पशुजन्य पदार्थतर्फ २ अर्ब ८४ करोड, पशु उत्पादन सामग्रीतर्फ २ अर्ब ४६ करोड बराबरको आयात भएको हो ।
गाई, गोरु, बाच्छा, बाच्छी ८० लाख, राँगा, भैँसी, पाडापाडी ७३ करोड ६१ लाख, बोका, बाख्रा एक अर्व ६९ करोड ९३ लाख, बंगुर, सुँगुर ६८ लाख, घोडा, खच्चर ७ करोड ५ लाख, प्यारेन्ट स्टक चल्ला लेयर्स ८ करोड ६१ लाख, प्यारेन्ट स्टक चल्ला ब्रोइलर ५२ करोड २६ लाख र ग्रान्ड प्यारेन्ट स्टक २ करोड ५८ लाखभन्दा बढीको आयात भएको छ भने सिद्रा माछा, सिपी फिस मिल, वोन मिलतर्फ ११ करोड ४२ लाखभन्दा बढीको आयात भएको छ ।
जनसंख्या वृद्धि र मानिसको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिसँगै मसिना तथा वास्नादार चामलको माग बढ्दै गएकाले चामलको आयात बढ्न गएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बताएका छन् । त्यस्तै पशुपालन र पोल्ट्री व्यवसाय फस्टाउदै गएकाले आवश्यक दाना प्रयोजनका लागि मकै र भटमासको पिना आयात अधिक छ । तरकारी बालीतर्फ मुख्यत आलु र प्याजको आयात अत्यधिक देखिए पनि अन्य ताजा तरकारीको व्यापार सन्तुलनमै रहेको उनको भनाइ छ । आइतबार प्रधामन्त्री कार्यालयमा आयोजित कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले कृषि तथा भूमिसुधारका क्षेत्रमा प्रगति भए पनि अझै अपुग रहेको भन्दै आगामी वर्षका लागि बजेट ल्याउनुअघि मास्टर प्लान ल्याउन कृषिमन्त्री खनाललाई निर्देशन दिएका थिए । कृषिमा नेपाललाई सबल बनाउन कृषि मन्त्रालयले मुख्य भूमिका खेल्नुपर्ने र भूमिसुधार मन्त्रालयले सहयोग गर्नुपर्ने बताएका थिए । केपी शर्मा ओलीले स्वदेशमै उत्पादित कृषिजन्य वस्तु उपयोग गर्ने वानीको विकास गरिनुपर्ने बताएका थिए ।
नेपालीको खाद्य आदत परिवर्तन हुँदै गएकाले बाली प्रणाली पनि त्यसैअनुसार सुधार गर्नुपर्ने उनको भनाइ थियो । उनले कृषिमा मात्रात्मक नभएर गुणात्मक परिवर्तन हुनुपर्ने र परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्लाखेती प्रणालीमा जानुपर्ने बताए ।



















