प्रदेश ५ को नाम र राजधानीको टुंगो लगाउन सकस

रुपन्देही । स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित विशेष समिति सरोकारवाला पक्षको राय सुझाव लिन प्रदेश ५ का १२ वटै जिल्लामा जाने भएको छ ।

समितिको वैठकले समितिमा रहेका १५ जना सदस्यहरु ६ वटा टोलीमा बाँडिएर फागुन ९ गतेदेखि जिल्लामा जाने निर्णय गरेको हो । टोलीले जिल्लामा पुगेर राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि,नागरिक समाज, पत्रकार, निजी क्षेत्रलगायतका संघसंस्थासंग रायसुझाव लिने भएका छन । स्थायी राजधानीका ८ वटा र नामाकरणका लागि ३ वटा प्रश्न रहेको फारम तयार गरिएको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुनले जानकारी दिए ।

प्रशासनिक सुगमता कस्तो, भूमि व्यवस्था कसरी गर्ने, भूमि केन्द्र (ल्याण्ड पुलिङ) कस्तो हुने,जनघनत्व र वातावरणीय अनुकुलता, सामरिक सुरक्षा, भौगोलिक अनुकूलता, कुन ठाउंमा राख्दा उपयुक्त होला भन्ने प्रश्नावली समेटिएको छ । नामाकरणका लागि ऐतिहासिक पहिचान,भौगोलिक पहिचान र सांस्कृतिक पहिचान मध्ये कुनलाई आधार मानेर प्रदेशको नाम राख्दा उपयुक्ता होला भनी तीनवटा प्रश्नको उत्तर सोधिने सभापति पुनले बताए ।

फागुन १८ गतेसम्म सबै जिल्लाबाट रायसुझाव लिएर ती सबै जिल्लाका सुझावहरुलाई कम्पाइल गरी तयार प्रतिवेदनलाई भुगोलविद्, सुरक्षाविद् र मौसमविद्बाट रायसुझाव लिएर अन्तिम प्रतिवेदन बनाई प्रदेश सभामा पेश गरिने सभापति पुनले बताए । अघिल्लो सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको थियो । स्थायी राजधानी र नामाकरण प्रदेशसभाको दुई तिहाई वहुमतले निर्णय गर्नुपर्ने संंवैधानिक व्यवस्था छ ।