अर्घाखाँची । मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले महिलाहरुको उचित सम्मान गर्ने कार्यमा सरकार र राजनितिक दलहरुले तद्रुपता देखाउनु पर्ने भन्दै देशमा पछिल्लो समय महिला र बालवालिकाहरु सबै भन्दा बढि आतंकित बन्दै गएको बताए ।
मानव अधिकार तथा शान्ती समाज अर्घाखाँची शाखाले सोमबार सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको महिला बालबालिकाको बिशेष सुरक्षाको लागि अभियान बिषयक अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै पुडासैनीले यस्तो बताएका हुन् । देशमा पछिल्लो समय भ्रष्टाचारले जरो गाडी गाडेको बताउँदै पुडासैनीले स्थायी सरकारको कृयाकलाप राम्रो नभएकोले सरकार सही दिशातर्फ जान नसकेको आरोप लगाए । ह्वाइडबडी बिमान काण्डमा मन्त्रीले ३÷३ वटा कुरामा सरकारलाई ढाँटेकोले पर्यटन मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको जोड थियो ।
कार्यक्रमा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुषाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल,प्रहरी नायव उपरिक्षक नवराज मल्ल, नेकपा ५ नं. प्रदेश सदस्य छमकुमारी खनाल ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कान, राजमोका जिल्ला उपाध्यक्ष गोपाल पौडेल, काँगे्रस नेतृ संगिता घिमिरे, समाजका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य मिना ढकाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकाली लगायतले मन्तव्य राख्दै मानव अधिकारको वर्तमान अवस्थाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम शान्ति समाजका जिल्ला अध्यक्ष अशोक पौडेलको अध्यक्षता, सदस्य लक्ष्मण घिमिरेको स्वागत मन्तव्य र पत्रकार प्रेमनारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।


















