कञ्चनपुर । बेलौरी नगरपालिकाका सब–ईन्जिनियर ६० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले बेलौरी नगरपालिकामा कार्यरत सब–ईन्जिनियर हृदय राज बजगाईलाई ६० हजार घुस सहित पक्राउ गरेको हो ।
कल्बर्ड निर्माणका लागि ठेक्का फरफारक गर्ने क्रममा सेवाग्राहीबाट ६० हजार घुस लिदैं गरेको अवस्थामा बजगाईलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय कञ्चनपुरका प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालले बताए ।
‘सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना पाएका थियौ’, उनले भने ‘आईतबार घुस लिइरहेको बेला अख्तियारबाट खटिएको टोलीले उनलाई रंङ्गेहात पक्राउ गरेको छ ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय कञ्चनपुरबाट डिएसपी प्रेम बहादुर बस्नेतकोे नेतृत्वमा खटिएको टोलीले रंङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ परेका ईन्जिनियर बजगाईलाई थप अनुसन्धानका लागि सोमबार काठमाडौं लगिने ढकालले बताए ।



















