काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका अधिकांश भूभागमा पश्चिमी वायुको प्रभावका कारण बुधबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकामा बुधबार १०.१ मिलिलिटर वर्षा भएको छ । अधिकांश हिमाली क्षेत्रमा हिमपात भएका कारण चिसो बढेको छ । मंगलबारदेखि मौसममा बदली भइरहेकाले वर्षासँगै चिसो बढेको विभागको भनाइ छ । मौसममा बदली हुने क्रम अझै केही दिन जारी रहने जनाइएको छ ।
बिहीबार दिउँसो देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने तथा बाँकी भूभागमा आंशिक बदली हुने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार राति भने देशको हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना छ ।
त्यस्तै, शुक्रबार देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानका साथै मध्य र पूर्वी क्षेत्रका केही स्थानमा सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि मध्यम र पूर्वी भेगका केही स्थानमा हल्का वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ । सो दिन हिमाली क्षेत्रमा हिमपातसमेत हुने जनाइएको छ ।
केही दिनदेखि पश्चिमी क्षेत्रबाट सुरु भएको मौसम बदलीको क्रम बुधबारदेखि मध्य तथा पूर्वी भूभागसम्म फैलिँदा वर्षा भएको मौसमविद् शान्ति कडेँलको भनाइ छ । बुधबार वर्षा भएकाले अधिकतम तापक्रम घटेको विभागले जनाएको छ ।
मौसममा आएको बदलीसँगै काठमाडौंको आसपासमा पनि हिमपात भएको छ । बुधबार देशका विभिन्न भागमा वर्षा भएको मौसमविद् कँडेलले बताइन् । उनका अनुसार वर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिउँ परेकाले चिसो बढ्ने देखिन्छ ।
विभागकाअनुसार बुधबार दिपायलमा २.३ मिलिमिटर वर्षा भएको छ भने डडेल्धुरामा ८.१, धनगढीमा १ र वीरेन्द्रनगरमा १३ मिलिमिटर वर्षा भएको छ । यस्तै, जुम्लामा ५.६, दाङमा १.८, पोखरामा ५.१, भैरहवामा ५.८, सिमरामा ३.५ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ६, ताप्लेजुङमा ६.३ र धनकुटामा ३.५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।



















