जोहोरमा इमिग्रेशनको ठूलो छापा: ५५ जना नेपालीसहित ४९२ विदेशी नागरिक पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको जोहोर राज्यस्थित तेब्राउ औद्योगिक क्षेत्रमा गरिएको अध्यागमन छापामा ५५ जना नेपालीसहित ४९२ विदेशी नागरिक पक्राउ परेका छन्। मलेसियाको अध्यागमन विभाग र सीमा सुरक्षा तथा संरक्षण निकाय (एकेपीएस) ले सोमबार, अक्टोबर १२ मा बिहान १० बजे अटोमोटिभ तथा इलेक्ट्रोनिक पार्टपुर्जा उत्पादन गर्ने एक कारखानामा संयुक्त रूपमा छापा मारेको हो।

मलेसियाको जोहोर राज्यस्थित अध्यागमन विभागका अनुसार, वैध कागजातबिना विदेशी कामदारलाई ठूलो सङ्ख्यामा काममा लगाइएको सूचनाका आधारमा केही सातादेखि निगरानी र अनुसन्धान गरेपछि कारबाही गरिएको हो। छापा मार्ने क्रममा केही विदेशी कामदार भाग्ने र लुक्ने प्रयास गरे पनि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका ४९२ जना विदेशी नागरिकमध्ये ४८ जना नेपाली पुरुष र ७ जना नेपाली महिला गरी ५५ जना नेपाली रहेका छन्।

अध्यागमन विभागले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा म्यानमारका १४३ जना पुरुष र ६६ जना महिला, बङ्गलादेशका १७० जना पुरुष र २ जना महिला, नेपालका ४८ जना पुरुष र ७ जना महिला, भारतका २८ जना पुरुष र ३ जना महिला, पाकिस्तानका ३ जना पुरुष, इन्डोनेसियाका ३८ जना पुरुष र ४९ जना महिला तथा कम्बोडियाकी १ जना महिला रहेका छन्।

पक्राउ परेका विदेशी नागरिकको उमेर १९ देखि ४६ वर्षसम्म रहेको जनाइएको छ। उनीहरूलाई वैध कागजात नहुनु, आवश्यक अनुमति नलिई काम गर्नु तथा मलेसियाको अध्यागमन ऐन १९५९/६३ र अध्यागमन नियमावली १९६३ उल्लङ्घन गरेको आशङ्कामा नियन्त्रणमा लिइएको हो।

यस कारबाहीका क्रममा कारखानाका एक स्थानीय व्यवस्थापकलाई समेत पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ। रोजगारदाताले वैधानिक प्रक्रियाबाट कामदार भर्ना गर्दा लाग्ने खर्चबाट बच्न विदेशी नागरिकलाई गैरकानुनी रूपमा काममा लगाएको आशङ्का गरिएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि सेतिया ट्रोपिका अध्यागमन हिरासत केन्द्रमा राखिएको छ।

जोहोर राज्यका अध्यागमन निर्देशक दातो हाजी मोहम्मद रुसी बिन मोहम्मद दारुसले अवैध विदेशी कामदारसम्बन्धी सूचना उपलब्ध गराउने सर्वसाधारणलाई धन्यवाद दिँदै वैध राहदानी, पास वा कार्य अनुमतिबिना विदेशी कामदार राख्ने रोजगारदाता तथा प्रतिष्ठान सञ्चालकविरुद्ध कडा कारबाही गरिने बताएका छन्।

स्रोत : मलेसियाको अध्यागमन विभाग, जोहोर राज्यको १३ अक्टोबर २०२६ को आधिकारिक प्रेस विज्ञप्ति।