मलेसियामा प्रेमीसँगै रहेकी युवतीमाथि बलात्कारको आरोप, विदेशी नागरिकको खोजी हुँदै।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको एक सपिङ मल क्षेत्रमा स्थानीय २० वर्षीया युवतीमाथि विदेशी नागरिकले बलात्कार गरेको आरोप लागेको छ। गत शनिबार साँझ करिब ७ बजे घटना भएको बताइएको छ। प्राप्त विवरणअनुसार, युवती आफ्ना प्रेमीसँग अन्तरंग सम्बन्धमा रहेको समयमा एक पुरुषले उनीहरूको भिडियो खिचेको आरोप छ।

आफूले भनेअनुसार नगरे उक्त भिडियो सार्वजनिक गरिदिने भन्दै ती पुरुषले युवतीलाई धम्की दिएको बताइएको छ। त्यसपछि आरोपितले युवतीका प्रेमीलाई त्यहाँबाट जान बाध्य पारी युवतीमाथि बलात्कार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ। आरोपित व्यक्ति बंगलादेशी नागरिक भएको आशंका गरिएको छ।

युवतीले आरोपितलाई यसअघि नचिनेको र कहिल्यै नदेखेको बताइएको छ। घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिको खोजी भइरहेको जनाइएको छ। यद्यपि, घटनाबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन। सञ्चारमाध्यमले प्रहरीको आधिकारिक प्रतिक्रिया र घटनाको थप विवरण प्राप्त गर्ने प्रयास गरिरहेका छन्।

समाचार स्रोत : स्थानीय मिडिया