जोहोरमा इमिग्रेशनको छापा: नौ नेपाली महिलासहित १७७ विदेशी पक्राउ।

जोहोर (मलेसिया):= मलेसियाको जोहोरस्थित गेलेङ पाताह क्षेत्रमा दुईवटा कारखानामा गरिएको संयुक्त अध्यागमन “इमिग्रेशन” को कारबाहीमा ९ जना नेपाली महिलासहित १७७ जना विदेशी नागरिक पक्राउ परेका छन्।

जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुुस्दी मोहम्मद दारुसका अनुसार सोमबार (अक्टोबर ५) साँझ ५ बजेदेखि सञ्चालन गरिएको कारबाहीमा मलेसियाली अध्यागमन विभाग र मलेसियाली सीमा नियन्त्रण तथा संरक्षण निकाय सहभागी थिए।

अध्यागमन विभागका अनुसार कारबाही गरिएका दुईमध्ये एउटा कारखाना विद्युतीय तथा विद्युतीय उपकरण उत्पादनसँग सम्बन्धित रहेको थियो भने अर्को धातु इन्जिनियरिङसम्बन्धी कारखाना थियो। ती कारखानामा गैरकानुनी रूपमा विदेशी श्रमिक कार्यरत रहेको सूचना, गुप्तचर जानकारी तथा स्थानीयवासीबाट प्राप्त उजुरीका आधारमा कारबाही गरिएको हो।

कारबाहीका क्रममा केही विदेशी श्रमिकले भाग्ने प्रयास गरे पनि सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए।पक्राउ पर्नेमा म्यानमारका ३४ पुरुष र १०६ महिला, बंगलादेशका २४ पुरुष, भारतका चार पुरुष तथा नेपालका ९ महिला रहेका छन्। पक्राउ परेका सबै विदेशी नागरिकको उमेर १९ देखि ३८ वर्षसम्म रहेको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागका अनुसार पक्राउ परेकाहरूमाथि सन् १९६३ को अध्यागमन नियमावलीको नियम ३९(बी), सन् १९५९/६३ को अध्यागमन ऐनको दफा ६(१)(सी) तथा दफा १५(१)(सी) अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका विदेशी नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि पोन्तियनस्थित पेकान नानास अध्यागमन डिपो केन्द्रमा राखिएको अध्यागमन विभागले जनाएको छ।