सुरक्षागार्ड ड्युटीबाट फर्किएर सुतेका धादिङका भट्ट कहिल्यै नउठ्ने गरी अस्ताए।

क्वालालम्पुर : रोजगारीका लागि मलेसियामा सुरक्षागार्डमा कार्यरत धादिङका एक नेपाली श्रमिकको सुतेकै अवस्थामा मृत्यु भएको छ। धादिङ जिल्ला निवासी सिताराम भट्टको बुधबार राति ड्युटीबाट फर्किएपछि सुतेकै अवस्थामा मृत्यु भएको जानकारी प्राप्त भएको छ।

भट्ट मलेसिया आएदेखि नै एउटै सेक्युरिटी कम्पनीमा निरन्तर काम गर्दै आएको बताइएको छ। लामो समयदेखि एउटै कम्पनीमा कार्यरत रहे पनि पछिल्लो समय कम्पनीले उनको रोजगारीसम्बन्धी भिसा नवीकरण नगरेको जानीजानी कम्पनीले “अवैधानिक” बनाएको खुलेको छ।

सहकर्मी तथा चिनजानका व्यक्तिहरूका अनुसार भट्ट मदिरा सेवन गर्ने व्यक्ति नरहेको बताइएको छ। ड्युटी सकेर सामान्य अवस्थामा कोठामा फर्किएका उनी सुतेपछि फेरि नउठेको बताइएको छ। उनको मृत्युको वास्तविक कारण भने तत्काल खुल्न सकेको छैन। सम्बन्धित स्वास्थ्य निकायबाट हुने पोस्टमार्टम तथा स्वास्थ्य परीक्षणको प्रतिवेदनपछि मात्रै मृत्युको कारण यकिन हुने अपेक्षा गरिएको छ।

मलेसियामा नेपाली श्रमिकहरू कामको थकान, लामो समयको ड्युटी, तनाव, अपर्याप्त आराम तथा विभिन्न स्वास्थ्य समस्याका कारण प्रभावित हुने र मृत्यु हुने गरेका छन्। विशेषगरी सुरक्षा क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूले लामो समयसम्म काम गर्नुपर्ने अवस्था रहने भएकाले उनीहरूको स्वास्थ्य र कार्यस्थल सुरक्षाबारे बेला – बेला गम्भीर प्रश्न उठ्दै आएको छ।

हुन त अनुसन्धानले यसरी मलेसियामा सुतेकै अवस्थामा दिनहुँजसो नै एक नेपालीको मृत्यु हुने गरेको रिपोर्ट हरु सार्वजनिक हुने गरेका छ्न । अहिले फ़ेरि सिताराम भट्टको निधनले मलेसियामा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य, कार्यसमय, आराम तथा रोजगारसम्बन्धी सुरक्षाको विषय पुनः चर्चामा ल्याएको छ।