विदेशी श्रमिकका लागि २% – २% EPF योगदान पनि खारेज गरौं: पुर्व अर्थमन्त्री लिम ग्वान एङ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाका पूर्व अर्थमन्त्री तथा डेमोक्रेटिक एक्सन पार्टी (DAP) का सल्लाहकार लिम ग्वान एङले विदेशी श्रमिकका लागि लागू गरिएको कर्मचारी सञ्चय कोष (EPF) मा २ प्रतिशत रोजगारदाता र २ प्रतिशत श्रमिक योगदान सम्बन्धी व्यवस्था पनि तत्काल खारेज गर्न माग गरेका छन्।

हाल EPF को आधिकारिक व्यवस्थाअनुसार घरेलु कामदारबाहेक वैध कार्य अनुमति भएका गैर–मलेसियाली श्रमिकका लागि योगदान अनिवार्य छ। अक्टोबर २०२५ को तलबदेखि लागू भएको व्यवस्थामा रोजगारदाता र श्रमिक दुवैको योगदान दर २–२ प्रतिशत रहेको छ।

ग्वान एङले उक्त व्यवस्था रोजगारदातामाथि थप लागत सिर्जना गर्ने भन्दै विदेशी श्रमिकको EPF योगदानसम्बन्धी अनिवार्यता हटाउनुपर्ने बताएका छन्। उनले विदेशी श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिबाट बाहिर राख्ने र EPF योगदानको व्यवस्था हटाउने हो भने करिब १२ लाख MSME व्यवसायलाई लागत दबाब कम गर्न सहयोग पुग्ने दाबी गरेका छन्।

यद्यपि, मलेसियाको श्रम मन्त्रालय मातहतका श्रम विभागका अनुसार हालको न्यूनतम पारिश्रमिक व्यवस्था विदेशी श्रमिकसहित सबै श्रमिकमा लागू हुन्छ। त्यसैले विदेशी श्रमिकलाई आगामी सम्भावित पारिश्रमिक वृद्धिबाट अलग राख्ने विषय कार्यान्वयनमा आएमा विद्यमान श्रम व्यवस्थासँग सम्बन्धित महत्वपूर्ण नीतिगत परिवर्तन हुनेछ।

स्रोत : मलेसियाली सञ्चारमाध्यम