मलेसियामा विदेशी कामदारले कुन-कुन निश्चित सर्तमा कम्पनी परिवर्तन गर्न पाउँछ् त ?

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत विदेशी कामदारका लागि निश्चित मापदण्ड र सरकारी स्वीकृति पूरा गरेपछि रोजगारदाता अर्थात् कम्पनी परिवर्तन गर्न सकिने व्यवस्था केहि वर्ष पहिले देखिनै कार्यान्वयनमा रहेको छ।

हालको प्रावधानअनुसार विदेशी कामदारले आफूखुसी वा अनधिकृत रूपमा कम्पनी परिवर्तन गर्न भने पाउँदैनन्। रोजगारदाता परिवर्तनका लागि सम्बन्धित सरकारी निकायबाट स्वीकृति लिनुपर्ने हुन्छ। मलेसियाको श्रम विभाग (JTKSM) का अनुसार मूल रोजगारदाताले विदेशी कामदारलाई रोजगारीमा निरन्तरता दिन नसक्ने अवस्था, कम्पनी बन्द वा दिवालिया हुनु, आर्थिक कठिनाइ, कम्पनी पुनर्संरचना, कम्पनीको नाम वा सञ्चालक परिवर्तन तथा रोजगारदाताको मृत्युजस्ता निश्चित कारणमा रोजगारदाता परिवर्तनका लागि आवेदन दिन सकिने व्यवस्था छ।

यस्तो प्रक्रियामा पुरानो र नयाँ रोजगारदाताको अवस्था, कार्यस्थल, श्रमसम्बन्धी कानुनको पालना तथा कामदारको आवासलगायत विषयमा सम्बन्धित निकायले जाँच गर्ने व्यवस्था रहेको छ। नयाँ रोजगारदाताले पनि विदेशी कामदार नियुक्तिका लागि आवश्यक पूर्वस्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ।

यस व्यवस्थाले कानुनी प्रक्रियाबाट कम्पनी परिवर्तन गर्नुपर्ने अवस्थामा रहेका कामदारलाई वैधानिक बाटो उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै, रोजगारदाताका लागि पनि आवश्यकताअनुसार श्रमशक्ति व्यवस्थापन गर्न सहज हुने र कामदार तथा रोजगारदाता दुवै पक्षलाई पारदर्शी प्रक्रियाबाट अघि बढ्न मद्दत पुग्ने देखिन्छ।

तर कम्पनी परिवर्तनका नाममा अनधिकृत रूपमा काम छाड्ने, स्वीकृतिबिना अर्को कम्पनीमा काम गर्ने वा रोजगारको क्षेत्रसमेत परिवर्तन गर्ने कार्य भने कानुनी रूपमा मान्य हुँदैन। मलेसियाको अध्यागमन विभागले वैध अनुमति बिना रोजगारदाता वा रोजगार क्षेत्र परिवर्तन गर्न नपाइने स्पष्ट गरेको छ।

त्यसैले नयाँ व्यवस्थालाई विदेशी कामदारका लागि मनलाग्दी कम्पनी परिवर्तन गर्ने छुटभन्दा पनि निश्चित मापदण्ड, सरकारी निगरानी र कानुनी प्रक्रियामार्फत रोजगारदाता परिवर्तन गर्न सकिने अवसरका रूपमा बुझ्नुपर्ने देखिन्छ।

यसले विशेषगरी रोजगारदाता र कामदारबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउन, अनधिकृत रोजगार परिवर्तन तथा बिचौलियाको भूमिकालाई नियन्त्रण गर्न र श्रम बजारलाई थप पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।