क्वालालम्पुर (मलेसिया):= मलेसियामा सामाजिक भ्रमण (Social Visit) अर्थात भिजिट भिसा लिएर प्रवेश गरी रोजगारी गर्ने वा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिकमाथि अध्यागमन विभागले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
मलेसियाका अध्यागमन विभागका महानिर्देशक दातुक सेरी जकारिया शाबानले सामाजिक भ्रमण अनुमति रोजगारी वा व्यवसाय सञ्चालनका लागि नभएको स्पष्ट पार्दै उक्त अनुमतिमा रहेका विदेशी नागरिकले कुनै पनि प्रकारको काम गर्न नपाउने बताएका छन्।
उनका अनुसार सामाजिक भ्रमण अनुमतिको दुरुपयोग गर्दै रोजगारी गर्ने, व्यापार–व्यवसाय सञ्चालन गर्ने वा अनुमति विपरीत अन्य आर्थिक गतिविधिमा संलग्न भएको प्रमाणित भएमा सम्बन्धित विदेशी नागरिकमाथि कानुनी कारबाही हुनेछ।
नियम उल्लंघन गरेको अवस्थामा एक हजार रिङ्गेटसम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उनले बताएका छन्। अध्यागमन नियम उल्लंघन गर्ने विदेशी नागरिकलाई कालोसूचीमा राखी मलेसियाबाट देशनिकाला समेत गर्न सकिने जकारियाले स्पष्ट पारेका छन्।
पर्यटक वा सामाजिक भ्रमणको उद्देश्यले मलेसिया प्रवेश गरेपछि लुकीछिपी रोजगारी गर्ने वा व्यवसाय सञ्चालन गर्ने कार्य अध्यागमन नियमावली १९६३ को नियम ३९(ख) विपरीत हुने विभागको भनाइ छ। विभागले विदेशी नागरिकले आफूलाई प्राप्त भएको भ्रमण अनुमति र त्यसअन्तर्गत गर्न पाइने गतिविधिबारे स्पष्ट जानकारी लिएर मात्र मलेसियामा बस्न आग्रह गरेको छ।
विदेशीका साना व्यवसायलाई कानुनी बाटो दिन सुझाव

यसैबीच, आप्रवासी अधिकारसम्बन्धी संस्था **नर्थ साउथ इनिसिएटिभ (एनएसआई)**ले भने योग्य विदेशी नागरिकलाई कानुनी रूपमा साना व्यवसाय सञ्चालन गर्न सक्ने छुट्टै भिसा वा अनुमति प्रणाली विकास गर्न सरकारलाई सुझाव दिएको छ।
एनएसआईका निर्देशक एड्रियन पेरेराले अवैध रूपमा व्यवसाय सञ्चालन गर्ने गतिविधिमाथि कारबाही आवश्यक भए पनि योग्य विदेशीले सञ्चालन गर्न सक्ने साना व्यवसायलाई कानुनी दायरामा ल्याउने नीति आवश्यक रहेको बताएका छन्।
उनले त्यस्ता व्यवसायलाई कानुनी मान्यता दिएर कर प्रणालीमा समेट्न, नियमन गर्न र व्यवस्थित बनाउन सकिने धारणा राखेका छन्।
मलेसियामा रोजगारी तथा व्यवसायका लागि विभिन्न प्रकारका अनुमति व्यवस्था रहेकाले विदेशी नागरिकले आफ्नो भिसाको प्रकृति र त्यसले प्रदान गर्ने अधिकारबारे जानकारी नलिई काम वा व्यवसाय सञ्चालन गर्दा कानुनी समस्या उत्पन्न हुन सक्ने देखिएको छ।

![[TB]_Imigresen Zakaria Shaaban_BERNAMA](https://malayakhabar.com/wp-content/uploads/2026/09/TB_Imigresen-Zakaria-Shaaban_BERNAMA-696x414.jpg)


















