गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, शर्मा झापा–१ बाट निर्वाचित।

काठमाडौं:= नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशनका लागि सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

उपसभापति विश्वप्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ बाट मतदानमार्फत निर्वाचित भएका छन्। ७१० मतदाता रहेको झापा–१ मा शर्माले ६३८ मत प्राप्त गरेका हुन्। कांग्रेसको १५औँ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौंमा गर्ने कार्यतालिका तय गरिएको छ।

पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिका कारण महाधिवेशनको प्रक्रियालाई लिएर समेत विभिन्न धारणा सार्वजनिक भइरहेका छन्। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। तर , बाढीपहिरोले महाधिवेशन केही दिन सर्ने देेेेेेखिएको छ ।

यसैबीच, कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीचको मतभेद थप स्पष्ट रुपमा बल्झिएको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग जोडिएको समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ भने पार्टीभित्रै सहमति र एकताको प्रयास पनि जारी रहेको जानकारहरु बताउछन्।

पार्टीभित्रको निरन्तर गुटगत प्रतिस्पर्धा र समानान्तर गतिविधिले कांग्रेसको आन्तरिक एकतामाथि प्रश्न उठाएको छ। एउटै पार्टीभित्र फरक–फरक समूह र धारबीच प्रतिस्पर्धा बढ्दै जाँदा संगठनात्मक एकता कमजोर हुनसक्ने तथा त्यसको असर पार्टीको समग्र राजनीतिक गतिविधिमा पर्न सक्ने भन्दै कांग्रेसकै नेताहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

महाधिवेशन नेतृत्व चयन र नीति–दिशा तय गर्ने महत्वपूर्ण अवसर भए पनि त्यसअघि देखिएको आन्तरिक विभाजनले कांग्रेसका लागि एकताको चुनौती थपिएको छ। पार्टीभित्रका मतभेदलाई संवाद र सहमतिबाट व्यवस्थापन गर्दै अघि बढ्न नसके गुटगत राजनीतिले कुनै एक पक्ष मात्र नभई समग्र पार्टी संगठनलाई नै असर पार्न सक्ने देखिन्छ।

त्यसैले महाधिवेशनलाई प्रतिस्पर्धासँगै पार्टीभित्रको आन्तरिक एकता, सहमति र संगठन सुदृढीकरणको अवसरका रूपमा अघि बढाउने चुनौती कांग्रेससामु देखिएको छ।