मलेसियाको पासपोर्ट विश्वमै दोस्रो शक्तिशाली बन्यो, १२९ देश फ्री र ४६ अन एराइभल।

क्वालालम्पुर (मलेसिया):= विश्व स्तरमा राहदानी “पासपोर्ट” को शक्ति मापन गर्ने ‘द पासपोर्ट इन्डेक्स ग्लोबल र्‍याङ्किङ २०२६’ (The Passport Index) को पछिल्लो प्रतिवेदनले विश्वभर ठूलो हलचल ल्याएको छ।

यस वर्ष मलेसियाको पासपोर्टले ऐतिहासिक फड्को मार्दै विश्वकै दोस्रो शक्तिशाली पासपोर्टको स्थान सुरक्षित गरेको छ। आफ्नै छिमेकी मुलुक सिंगापुरसँग संयुक्त रूपमा दोस्रो स्थान साझा गरेको मलेसियाका नागरिकले अब विश्वका १२९ देशमा कुनै पनि पूर्व भिसा बिना (फ्री भिसा) सोझै यात्रा गर्न सक्नेछन् भने ४६ देशमा ‘भिसा अन एराइभल’ को सुविधा पाउनेछन्।

मलेसियाको यो ऐतिहासिक सफलताले विश्वभर चर्चा पाइरहँदा धेरैको ध्यान भने नेपालको स्थिति कस्तो छ भन्नेतर्फ मोडिएको छ। पछिल्लो आधिकारिक प्रतिवेदन अनुसार, मलेसिया शीर्ष स्थानमा उक्लिँदा नेपाली पासपोर्ट भने वैश्विक र्‍याङ्किङको ८८ औँ स्थानमा खुम्चिएको छ। नेपालको यो स्थानले नेपाली पासपोर्टको कमजोर अन्तर्राष्ट्रिय साखलाई प्रतिबिम्बित गर्दछ।

हाल नेपाली पासपोर्ट बाहकहरूलाई विश्वका कुल ५२ देशमा मात्र सहज पहुँच उपलब्ध छ, जसमध्ये केवल ११ देशमा मात्र विना भिसा (Visa-free) प्रवेशको अनुमति छ भने बाँकी ४१ गन्तव्यमा भिसा अन एराइभल वा ई-भिसाको सहारा लिनुपर्ने हुन्छ। मलेसियाले कूटनीतिक सम्बन्ध र सुरक्षा प्रणालीमा सुधार गर्दै विश्वलाई चकित पारिरहँदा, नेपालको यो रैंकिंगले भने नीतिगत र कूटनीतिक तहमा गम्भीर समीक्षाको आवश्यकता औंल्याएको छ।