मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक आरएम २ हजार रिङ्गेट पुर्‍याउने प्रस्ताव।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढाएर २ हजार रिङ्गेट पुर्‍याउने प्रस्तावबारे सरकारले कामदारको हितसँगै सूक्ष्म, साना तथा मझौला व्यवसाय (PMKS) को निरन्तरता र क्षमता पनि ध्यानमा राखेर निर्णय गर्ने जनाएको छ।

इकोनोमी  मन्त्री अक्मल नस्रुल्लाह मोहम्मद नासिरले न्यूनतम पारिश्रमिक वृद्धिबारे अन्तिम निर्णय तथा विस्तृत विवरण आगामी आर्थिक वर्ष २०२७ को बजेट प्रस्तुतिका क्रममा सार्वजनिक हुने बताएका छन्। बजेट आगामी महिनाको पहिलो साता प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले संसद्मा प्रस्तुत गर्ने तयारी छ।

क्लुआङमा प्रहरी आवासीय क्वार्टरको अवस्थाबारे स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री नास्रुल्लाहले न्यूनतम पारिश्रमिक बढाउँदा श्रमिकको हित र रोजगारदाताको व्यवसाय सञ्चालन क्षमताबीच सन्तुलन कायम गर्नुपर्ने बताए।

उनले विशेषगरी साना व्यवसायी तथा सूक्ष्म, साना र मझौला व्यवसायलाई पारिश्रमिक वृद्धिको प्रभावबाट पर्न सक्ने आर्थिक भारलाई समेत सरकारले विचार गर्ने बताए। न्यूनतम पारिश्रमिक २ हजार रिङ्गेट पुर्‍याउँदा वस्तु तथा सेवाको मूल्यसमेत बढ्न सक्ने अर्थविद्हरूको धारणाबारे सोधिएको प्रश्नमा उनले बजेट प्रस्तुत नभएसम्म नीतिको विस्तृत स्वरूपबारे निष्कर्ष निकाल्न उचित नहुने बताए।

मन्त्री नास्रुल्लाहका अनुसार आर्थिक वर्ष २०२७ को बजेट अक्टोबरको पहिलो साता संसद्मा प्रस्तुत हुने अपेक्षा गरिएको छ। संसद्को बैठक भने आगामी सातादेखि सुरु हुँदैछ। उनले भने, “बजेट प्रस्तुत हुन अब केही दिन मात्र बाँकी छ। त्यसैले प्रधानमन्त्री वा अर्थमन्त्रीबाट बजेटमार्फत आधिकारिक घोषणा हुने विषयलाई केही समय प्रतीक्षा गर्नु उचित हुन्छ।”