क्वालालम्पुर (मलेसिया) : मलेसियाका पूर्वप्रधानमन्त्री तुन डा. महाथिर मोहम्मदकी पत्नी तथा देशकी पूर्व प्रथम महिला तुन डा. सिटी हस्मा मोहम्मद अलीको १०० वर्षको उमेरमा निधन भएको छ।
पारिवारिक स्रोतका अनुसार, डा. सिती हस्माले सोमबार, २८ सेप्टेम्बर २०२६ बिहान करिब ९ः२० बजे क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युट (IJN) मा उपचारका क्रममा अन्तिम श्वास लिनुभएको हो। उहाँको निधनको पुष्टि उहाँका छोरा तान श्री मोखजानी महाथिरले गर्नुभएको छ।
यसै वर्षको जुलाई १२ मा उहाँले आफ्नो १००औँ जन्मदिन मनाउनुभएको थियो। शताब्दी उमेरसम्म सक्रिय जीवन बिताउनुभएकी डा. सिटी हस्मा मलेसियाको सामाजिक तथा सार्वजनिक जीवनमा लामो समयदेखि प्रभावशाली व्यक्तित्वका रूपमा रहनुभएको थियो।
मलेसियाको प्रारम्भिक पुस्ताका मलय महिला चिकित्सकमध्ये एक रहनुभएकी डा. सिटी हस्माले चिकित्सा क्षेत्रमा मात्र नभई सामाजिक सेवामा समेत उल्लेखनीय योगदान पुर्याउनुभएको थियो। विशेषगरी मातृ तथा शिशु स्वास्थ्य, बालकल्याण, साक्षरता अभियान र मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो।
पूर्वप्रधानमन्त्री महाथिरको दुई कार्यकालका क्रममा उहाँ देशकी प्रथम महिलाका रूपमा सार्वजनिक जीवनमा सक्रिय रहनुभयो। सरल स्वभाव, सामाजिक सेवाप्रतिको समर्पण र महिलाको स्वास्थ्य तथा कल्याणका क्षेत्रमा पुर्याएको योगदानका कारण उहाँ मलेसियाली जनतामाझ अत्यन्त सम्मानित हुनुहुन्थ्यो।
उहाँलाई मलेसियाली समाजमा सम्मानपूर्वक ‘इबु नेगारा’ अर्थात् ‘राष्ट्रकी आमा’ भनेर समेत सम्बोधन गरिन्थ्यो।उहाँको निधनको खबरसँगै मलेसियाभर शोकको वातावरण बनेको छ। प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिम सहित विभिन्न राजनीतिक दलका नेता, पूर्व तथा वर्तमान सरकारी अधिकारी, सामाजिक क्षेत्रका व्यक्तित्व र सर्वसाधारणले डा. सिटी हस्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मलेसियाको सार्वजनिक स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकी डा. सिटि हस्माको निधनलाई देशले एक युगको अन्त्यका रूपमा स्मरण गरेको छ। उहाँले समाजसेवा र जनस्वास्थ्यका क्षेत्रमा पुर्याउनुभएको योगदान लामो समयसम्म मलेसियाली समाजमा स्मरणीय रहनेछ।




















