एनआरएनए क्षेत्रीय समिति जोहोरद्वारा बाढी पीडितका लागि रु. २ लाख १३ हजार बढी सहयोग।

जोहोर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ।

नेपालमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै गम्भीर मानवीय संकट उत्पन्न भएपछि समितिले पूर्वनिर्धारित तीज विशेष कार्यक्रमसहित अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू स्थगित गर्दै राहत सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

समितिले संस्थागत रूपमा घोषणा गरेको रु. ५० हजारसहित सदस्यहरू, विभिन्न संघसंस्था तथा व्यक्तिगत सहयोगदाताबाट संकलित रकम गरी कुल रु. २ लाख १३ हजार ७७२ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। उक्त रकम समितिका अध्यक्ष वेदना श्रेष्ठमार्फत कोषमा हस्तान्तरण गरिएको जनाइएको छ।

समितिले विपद्को यस दुःखद् घडीमा मातृभूमि नेपालका प्रभावित नागरिक तथा पीडित परिवारलाई सक्दो आर्थिक र भौतिक सहयोग गर्न सम्पूर्ण सदस्य, संघसंस्था तथा व्यक्तिहरूलाई अपिलसमेत गरेको थियो।

एनआरएनए क्षेत्रीय समिति जोहोरले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण सदस्य, सहयोगदाता र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।