मलेसियामा अध्यागमनको कारबाही तीव्र: सेप्टेम्बर १७ सम्म ५७ हजारभन्दा बढी पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाको अध्यागमन विभाग (JIM) ले देशभर अवैध आप्रवासी तथा अध्यागमनसम्बन्धी कानुन उल्लङ्घन गर्नेहरूमाथि कारबाही तीव्र बनाएको छ। विभागले सन् २०२६ को जनवरी १ देखि सेप्टेम्बर १७ सम्म ९ हजार ७ सयभन्दा बढी अपरेसन सञ्चालन गरी १ लाख ३० हजारभन्दा बढी विदेशी नागरिकको जाँच गरेको जनाएको छ।

अध्यागमन विभागका उपमहानिर्देशक (अपरेसन) दातुक लोकमान एफेन्डी राम्लीका अनुसार, उक्त अवधिमा ५७ हजारभन्दा बढी अवैध आप्रवासी (PATI) पक्राउ परेका छन्। तीमध्ये ३५ हजारभन्दा बढी विभागद्वारा सञ्चालन गरिएका अपरेसनबाट तथा २२ हजारभन्दा बढी देशका प्रवेशद्वार र अन्य सुरक्षा निकायबाट हस्तान्तरण गरिएका घटनामार्फत पक्राउ परेका हुन्।

क्वालालम्पुरस्थित फ्ल्याट श्री कोलाममा सञ्चालन गरिएको प्रवर्तन कारबाहीको नेतृत्व गरेपछि उनले अध्यागमनसम्बन्धी कारबाही निरन्तर जारी रहने बताए। उनका अनुसार २६० दिनको अवधिमा दैनिक औसत ३७ वटा अपरेसन सञ्चालन गरिएको छ।

उनले अध्यागमन विभागको कारबाही विदेशी नागरिकमा मात्र सीमित नरहेको स्पष्ट पारे। अध्यागमन कानुन उल्लङ्घन गर्ने रोजगारदाता, व्यवसायिक प्रतिष्ठानका सञ्चालक तथा घरधनीमाथि समेत कानुनी कारबाही गरिने उनले बताए।

अवैध आप्रवासीलाई रोजगारी दिने रोजगारदातामाथि मुद्दा

लोकमान एफेन्डीका अनुसार, वैध रोजगारी अनुमति नभएका अवैध आप्रवासीलाई संरक्षण दिने वा रोजगारी प्रदान गर्ने रोजगारदातामाथि समेत मुद्दा चलाइनेछ। त्यस्तै, अवैध आप्रवासीलाई आफ्नो व्यवसायिक प्रतिष्ठान वा आवास भाडामा दिने घरधनी तथा प्रतिष्ठानका मालिकसमेत अध्यागमन कानुनअनुसार कारबाहीमा पर्न सक्नेछन्।

सेप्टेम्बर १७ सम्म देशभर १ हजार ७२० जना रोजगारदातामाथि अध्यागमनसम्बन्धी विभिन्न कसुरमा मुद्दा चलाइएको विभागले जनाएको छ। यो तथ्याङ्कअनुसार दैनिक औसत ६ जना रोजगारदाता वा प्रतिष्ठानका मालिकमाथि मुद्दा चलाइएको छ।

यसैबीच, अध्यागमन कानुन उल्लङ्घन गरेको आशंका लागेका विदेशी नागरिकमाथि सर्वसाधारणले आफैँ कारबाही नगर्न विभागले आग्रह गरेको छ। त्यस्ता गतिविधिबारे आधिकारिक माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन र कानुनी प्रक्रियामार्फत आवश्यक कारबाही अघि बढाउन विभागले अनुरोध गरेको छ।

स्रोत : स्थानीय मिडिया र अध्यागमन विभाग मलेसिया ।