स्थगित भएको घेदुङ मलेसियाको अधिवेशन तथा वार्षिकोत्सव अक्टोबर ४ मा हुँदै।

क्वालालम्पुर(मलेसिया):= तामाङ समुदायको माउ संस्था नेपाल तामाङ घेदुङ प्रवास शाखा, मलेसियाको ५औँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव अन्ततः आगामी अक्टोबर ४, २०२६ मा आयोजना हुने भएको छ।

यसअघि घेदुङले सेप्टेम्बर १३, २०२६ आइतबार बिहान ११ बजे क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा ५औँ अधिवेशन तथा २१औँ वार्षिकोत्सव आयोजना गर्ने तयारी गरेको थियो। तर नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण सयौँ नागरिकको मृत्यु हुनुका साथै ठूलो जनधनको क्षति भएपछि देश विपत्तिमा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने ठहर गर्दै आयोजकले कार्यक्रम स्थगित गरेको थियो।

अब भने अक्टोबर ४, २०२६ का दिन क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमै कार्यक्रम आयोजना गर्ने गरी नयाँ मिति तय गरिएको हो। कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपालबाट मलेसिया आउनुहुने चर्चित गायक तथा संगीतकार प्रकाश तितुङ तामाङको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

अधिवेशन तथा वार्षिकोत्सवसँगै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत आयोजना हुने भएकाले मलेसियामा रहेका तामाङ समुदायका लागि यो विशेष अवसरका रूपमा रहने अपेक्षा गरिएको छ। नेपाल तामाङ घेदुङ प्रवास शाखा, मलेसिया प्रवासमा रहेका तामाङ समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, संस्कार तथा भेषभूषाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले क्रियाशील संस्था हो।

संस्थाको ५औँ अधिवेशनले आगामी कार्यदिशा तय गर्नुका साथै संगठनलाई अझ व्यवस्थित र सुदृढ बनाउने अपेक्षा गरिएको छ। घेदुङले मलेसियामा रहेका सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थासँग आबद्ध भई संगठनलाई थप मजबुत बनाउन आग्रह गरेको छ।

नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको साथै मलेसियालाई कर्मथलो बनाएर बसोबास गरिरहेका पत्रकार, श्रमजीवी, बुद्धिजीवी, युवा, व्यवसायी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।कार्यक्रमको प्रायोजन रेष्टुरेन्ट मण्डला र आरटीएफसी फुटबल क्लब मलेसिया ले गरेको छ ।