क्वालालम्पुर (मलेसिया):= लामो समयदेखि रिक्त रहेको मलेसियाका लागि नेपाली राजदूत पदमा नेपाल सरकारले चूडामणि खरेललाई सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरेलसहित विभिन्न १३ देशका लागि नयाँ राजदूतहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
मानविकी, अंग्रेजी, राजनीतिशास्त्र तथा कानुनको प्राज्ञिक पृष्ठभूमि भएका खरेल शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक (बीए) तथा स्नातकोत्तर (एमए), राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक (एलएलबी) तहको अध्ययन गरेका छन्।
खरेल हाल नेपाल योग खेलकुद संघका महासचिवका रूपमा कार्यरत छन्। यसअघि उनले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको महासचिव र राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौँ राष्ट्रिय खेलकुद उपसमितिका सदस्य सचिवका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। साथै, उनले कसमस कलेज र जोन बाउर कलेजमा अंग्रेजी विषयका प्राध्यापक (लेक्चरर) का रूपमा समेत काम गरेका छन्।
शैक्षिक तथा संस्थागत क्षेत्रमा हासिल गरेको अनुभवसँगै खरेलको प्रशासनिक, कानुनी दस्तावेजीकरण तथा संस्थागत विकाससम्बन्धी दक्षता राजदूतको जिम्मेवारीमा उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
नेपाली श्रमिकका समस्या सम्बोधन गर्नुपर्ने चुनौती
नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियामा लामो समयदेखि राजदूत पद रिक्त रहँदा यहाँ कार्यरत नेपाली समुदायले प्रभावकारी कूटनीतिक अभिभावकत्वको अभाव महसुस गर्दै आएको छ। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढेसँगै नेपाली श्रमिकका समस्या समाधान गर्नुपर्ने अपेक्षा पनि बढेको छ।
प्रस्तावित राजदूत खरेलसामु मलेसियामा रहेका नेपाली श्रमिकका विभिन्न गम्भीर समस्या सम्बोधन गर्ने चुनौती रहनेछ। विशेषगरी अलपत्र परेका श्रमिकको उद्धार, जेलमा रहेका नेपालीलाई कानुनी सहायता, राहदानी नवीकरण सेवालाई छिटो–छरितो बनाउने, नेपाली सुरक्षा गार्डका श्रमसम्बन्धी समस्या समाधान गर्ने तथा फ्रि–भिसा र फ्रि–टिकटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउने विषय प्राथमिकतामा पर्नुपर्ने देखिन्छ।
त्यसैगरी, रोजगारदाता कम्पनीबाट हुने श्रमिक शोषण, राहदानी नियन्त्रण, तलब तथा कामको अवस्थासम्बन्धी गुनासो र श्रमिक अधिकार संरक्षणका विषयमा दूतावासको सक्रियता आवश्यक छ। मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सहज, पारदर्शी र प्रभावकारी कूटनीतिक सेवा उपलब्ध गराउनु नयाँ राजदूतका महत्वपूर्ण जिम्मेवारीमध्ये एक हुनेछ।
नियुक्ति प्रक्रिया
मन्त्रिपरिषद्बाट सिफारिस भएको खरेलको नाम अब संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भई मलेसिया सरकारबाट औपचारिक सहमति प्राप्त भएपछि राष्ट्रपतिबाट उनको नियुक्ति हुने प्रक्रिया अघि बढ्नेछ।
लामो समयदेखि रिक्त रहेको राजदूत पदमा नियुक्तिको प्रक्रिया अगाडि बढेपछि मलेसियास्थित नेपाली समुदायमा अपेक्षा बढेको छ। अब प्रस्तावित राजदूत खरेलले आफ्नो शैक्षिक, प्रशासनिक तथा संस्थागत अनुभवलाई कूटनीतिक जिम्मेवारीमा कसरी प्रयोग गर्छन् र नेपाली श्रमिकका टड्कारो समस्यालाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छन् भन्ने विषय चासोको केन्द्रमा रहेको छ।




















