इन्धन संकटको मारमा मलेसिया एयरलाइन्स, भाडा ३० प्रतिशत बढ्यो।

क्वालालम्पुर (मलेसिया):= मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्यमा तीव्र वृद्धि भएपछि मलेसिया एयरलाइन्सले हवाई भाडा औसतमा ३० प्रतिशतसम्म बढाएको छ। इन्धनको मूल्यमा आएको अप्रत्याशित वृद्धिले एयरलाइन्सको सञ्चालन लागत बढाएपछि यात्रु भाडामा समेत त्यसको प्रत्यक्ष असर परेको हो।

वर्षको सुरुवाती महिनामा प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा कम रहेको हवाई इन्धनको मूल्य द्वन्द्व चर्किएसँगै दोब्बरभन्दा बढी पुगेको बताइएको छ। यसबाट मलेसिया एयरलाइन्सको मातृ कम्पनी मलेसिया एभिएसन ग्रुप (MAG) माथि करिब RM७.५ अर्ब अतिरिक्त आर्थिक भार थपिएको जनाइएको छ।

बढ्दो लागत व्यवस्थापन गर्न कम्पनीले लन्डन, अस्ट्रेलिया, न्युजिल्यान्ड र भारतलगायत उच्च माग भएका अन्तर्राष्ट्रिय तथा आन्तरिक रुटमा हवाई भाडा वृद्धि गरेको छ। साथै, खर्चअनुसार पर्याप्त आम्दानी नहुने रुटमा उडान घटाउने रणनीति पनि अघि सारिएको छ।

कम्पनीले कुल उडानको करिब ५ प्रतिशत अर्थात् ८,००० वटा उडान कटौती गर्ने योजना बनाएको छ। यस कदमबाट इन्धन तथा सञ्चालन खर्च घटाउने र आर्थिक दबाब कम गर्ने अपेक्षा गरिएको छ।

हवाई इन्धनको मूल्यवृद्धिको असर मलेसिया एयरलाइन्समा मात्र सीमित छैन। सिंगापुर एयरलाइन्स, क्याथे प्यासिफिक र एयरएसिया लगायतका क्षेत्रीय विमान कम्पनीहरू पनि बढ्दो इन्धन लागतबाट प्रभावित भएका छन्। यात्रु भाडा तथा इन्धन सरचार्ज बढाउने क्रमले आगामी दिनमा हवाई यात्रा थप महँगो हुन सक्ने संकेत देखिएको छ।

यसको प्रत्यक्ष असर आगामी दिनमा मलेसिया–नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय रुटमा यात्रा गर्ने यात्रुको टिकट खर्चमा समेत पर्न सक्ने देखिएको छ।

स्रोत : स्थानीय सञ्चारमाध्यम