क्वालालम्पुर(मलेसिया):= नेपालबाट मलेसिया भ्रमणमा रहनुभएका नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका उपमहासचिव श्रमिक लामा तामाङसँग नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
मलेसियाको क्वालालम्पुरस्थित मण्डला रेष्टुरेन्टमा २०२६ सेप्टेम्बर १२ को राति ९ बजे आयोजित कार्यक्रममा परिचयात्मक भेटघाटसँगै नेपाल तामाङ घेदुङको वर्तमान गतिविधि, संगठनको भावी कार्यदिशा तथा प्रवासमा रहेका तामाङ समुदायसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रमको अध्यक्षता नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाका अध्यक्ष बिक्रम वाइबा तामाङले गर्नुभएको थियो।
कार्यक्रममा उपमहासचिव श्रमिक लामा तामाङले घेदुङ संघीय परिषद्को काम–कारबाही तथा आगामी योजनाबारे स्पष्ट पार्दै, घेदुङले विगतदेखि नै नीतिगत रूपमा उठाउँदै आएको आदिवासी जनजातिका अधिकार तथा मागहरूलाई निरन्तरता दिइरहने बताउनुभयो। ती मागहरू पूरा नभएसम्म सम्बन्धित निकायमा निरन्तर आवाज उठाउँदै जाने उहाँले स्पष्ट पार्नुभयो।
उहाँले वर्तमान कार्यकालभित्र घेदुङको आफ्नै भवन निर्माण गर्ने लक्ष्य रहे पनि तत्काल भवन निर्माण सम्भव नभए पनि जग्गा खरिद प्रक्रियाबाट सुरुवात गर्ने योजना रहेको जानकारी दिनुभयो।
त्यसैगरी, प्रवासमा रहेर नेपाल तामाङ घेदुङको संगठन निर्माण तथा गतिविधिमा योगदान पुर्याउँदै आएका व्यक्तिहरूलाई संघीय परिषद्ले ‘रिटर्नी विभाग’मार्फत समन्वय गरी सम्बन्धित ठाउँमा आवश्यक सिफारिस तथा सहजीकरण गर्दै संगठनमा निरन्तरता दिन सहयोग गर्ने जानकारीसमेत उपमहासचिव लामाले दिनुभयो।
भेटघाटका क्रममा घेदुङभित्र विगतमा देखिएका विभिन्न नकारात्मक टीका–टिप्पणी तथा भ्रमका विषयमा समेत स्पष्ट धारणा प्रस्तुत गर्दै, संगठनलाई थप एकताबद्ध, व्यवस्थित र संस्थागत रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा उपमहासचिव श्रमिक लामा तामाङले स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेकोमा नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियालाई धन्यवाद व्यक्त गर्नुभयो। यसै अनौपचारिक भेटघाटको अवसरमा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका मनोनित सदस्य श्री पासाङ लामा तामाङलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका उपमहासचिव श्रमिक लामा तामाङ, मनोनित संघीय सदस्य पासाङ लामा तामाङ, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पदम राज लिम्बु लगायतको उपस्थिति रहेको थियो।
भेटघाट कार्यक्रमले नेपाल तामाङ घेदुङको संघीय परिषद् र प्रवास शाखाबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै संगठनको संस्थागत विकास तथा प्रवासमा रहेका तामाङ समुदायको हकहितका विषयमा सहकार्यलाई निरन्तरता दिने वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन्।




















