क्वालालम्पुर(मलेसिया):= मलेसियाको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संसदीय छनोट समितिका अध्यक्ष माननीय दातो मुहम्मद बख्तियार वान चिकको नेतृत्वमा मलेसियाली सांसदहरूको एक प्रतिनिधिमण्डलले नेपालस्थित मलेसियाली दूतावासमा पुगेर २६ अगस्ट २०२६ मा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी आकस्मिक बाढीबाट ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
प्रतिनिधिमण्डलमा सांसद माननीय दातो वाइरा डा. कु अब्दुल रहमान कु इस्माइल, सांसद उस्ताज मुहम्मद इस्मी बिन मत तैब तथा सांसद माननीय आन्डी सुर्याडी सहभागी थिए। भेटका क्रममा मलेसियाली सांसदहरूले विपत्तिपछि उत्पन्न मानवीय अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै संकटको यस घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका थिए।
नेपालस्थित मलेसियाली दूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यले विपत्तिका बेला नेपालप्रति ऐक्यबद्धता प्रकट गर्न दूतावासमा उपस्थित भएका सांसदहरूप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकको उद्धार तथा राहतका लागि मलेसिया सरकारले प्रदान गरेको १ मिलियन अमेरिकी डलर आर्थिक सहयोगप्रति पनि कृतज्ञता व्यक्त गरिन्।

कार्यवाहक राजदूत बज्राचार्यले विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन नेपाल सरकारलाई मलेसियाले विशेष मलेसियाली विपद् सहायता तथा उद्धार टोली (SMART) परिचालन गरेकोमा समेत मलेसिया सरकारप्रति धन्यवाद व्यक्त गरिन्।
विनाशकारी बाढीपछि नेपाल र मलेसियाबीचको मानवीय सहकार्य तथा ऐक्यबद्धताको यो पहलले विपत्तिमा परेका नेपालीप्रति मलेसियाको निरन्तर साथ र सहयोगलाई थप उजागर गरेको छ।




















