मलेसियामा वायु प्रदूषण बढ्यो, ३५ क्षेत्रमा हावाको गुणस्तर अस्वस्थकर

क्वालालम्पुर (मलेसिया):= मलेसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढेसँगै हावाको गुणस्तर तीव्र रूपमा खस्किएको छ। मलेसियाको वातावरण विभागको पछिल्लो तथ्याङ्कअनुसार देशका ३५ वटा क्षेत्रमा वायु प्रदूषक सूचकांक (API) ‘अस्वस्थकर’ स्तरमा पुगेको छ।

विशेषगरी सारावाकको श्री अमान (Sri Aman) क्षेत्रमा API २१४ पुगेको छ। उक्त स्तरलाई ‘धेरै अस्वस्थकर’ श्रेणीमा राखिएको छ। वायु प्रदूषण बढेसँगै क्वालालम्पुर, सेलाङ्गोर, पुत्राजया र जोहोरलगायतका प्रमुख औद्योगिक तथा आवासीय क्षेत्रहरूमा समेत तुवाँलो र प्रदूषित हावाको प्रभाव देखिएको छ।

छिमेकी मुलुकहरूमा फैलिएको डढेलो तथा मौसमी हावाको प्रभावका कारण मलेसियाका विभिन्न भागमा तुवाँलो बढेको बताइएको छ। हावामा प्रदूषक कणको मात्रा बढ्दा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा पर्न सक्ने जनाइएको छ।

वायु प्रदूषणको जोखिम बढेपछि स्वास्थ्य अधिकारीहरूले मलेसियामा रहेका नागरिक तथा विदेशी श्रमिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यावश्यक कामबाहेक लामो समयसम्म बाहिर नबस्न तथा बाहिर निस्कनैपर्ने अवस्था आएमा N95 वा KN95 मास्क प्रयोग गर्न सुझाव दिइएको छ।

त्यस्तै, घरबाहिर गरिने अनावश्यक शारीरिक गतिविधि कम गर्न, सम्भव भएसम्म झ्याल–ढोका बन्द राख्न र पर्याप्त मात्रामा पानी पिउन स्वास्थ्यसम्बन्धी सुझाव दिइएको छ।

मलेसियामा ठूलो संख्यामा नेपालीसहित विदेशी श्रमिकहरू औद्योगिक क्षेत्र, निर्माणस्थल तथा सुरक्षा क्षेत्रमा कार्यरत रहेकाले उनीहरूलाई पनि बढ्दो वायु प्रदूषणप्रति विशेष सतर्क रहन आग्रह गरिएको छ।

लामो समयसम्म प्रदूषित हावामा काम गर्नुपर्ने अवस्था भएमा मास्कको प्रयोगसँगै स्वास्थ्यमा असहजता देखिए तत्काल सुरक्षित स्थानमा जान र आवश्यक परे स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञहरूले सुझाव दिएका छन्।