मलेसिया(मलेसिया):= एसिया–प्यासिफिक एन्ड सेन्ट्रल एसियाका ३० देशका सांसदहरूको सम्मेलन (AFPPD Conference) मा सहभागी हुन मलेसिया आउनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य माननीय डा. तोसिमा कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास शाखा “प्रवास नेपाली सम्पर्क विभाग” मलेसिया केन्द्रीय कमिटीबीच समसामयिक विषयमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
शनिबार भएको भेटघाटका क्रममा प्रवास शाखाका प्रतिनिधिहरूले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले भोग्नुपरेका विभिन्न सेवा-सुविधा सम्बन्धी समस्या र गुनासाहरू माननीय कार्कीसमक्ष राखेका थिए।

साथै, मलेसियास्थित नेपाली दूतावासमा लामो समयदेखि राजदूत पद रिक्त रहँदा प्रशासनिक कामकाज र श्रमिकका समस्या समाधानमा कठिनाइ भइरहेको विषयमा विशेष छलफल भएको थियो।
कार्यक्रममा डा. तोसिमा कार्कीले श्रमिकहरूका गुनासो र दूतावासमा राजदूत नियुक्तिको विषयलाई गम्भीरताका साथ लिँदै सम्बन्धित निकाय र संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटघाट छलफल कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसिलगायत प्रतिनिधि कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।




















