क्वालालम्पुर(मलेसिया):= मलेसियाली संसदको ६७औँ वर्षगाँठको अवसरमा आगामी सेप्टेम्बर १२ र १३ तारिख ‘ओपन डे २०२६’ आयोजना हुने भएको छ। विशेष कार्यक्रमअन्तर्गत मलेसियामा रहेका स्थानीय सर्वसाधारणसँगै विदेशी नागरिक तथा पर्यटकहरूले समेत संसद भवनको निःशुल्क भ्रमण गर्न पाउने भएका छन्।
दुई दिनसम्म सञ्चालन हुने ‘ओपन डे’ कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। कार्यक्रममा सहभागी आगन्तुकहरूले मलेसियाली संसदको महत्वपूर्ण स्थलहरू अवलोकन गर्नुका साथै मुख्य बैठक कक्ष (दीवान रक्यात) भित्र प्रवेश गरी प्रत्यक्ष रूपमा अवलोकन गर्ने अवसरसमेत पाउनेछन्।
यसका अतिरिक्त कार्यक्रममा ४० भन्दा बढी सरकारी मन्त्रालय तथा निकायका प्रदर्शनी, विभिन्न जानकारीमूलक गतिविधि तथा सांस्कृतिक प्रस्तुतिहरू समेत राखिने भएकाले मलेसियाको शासन व्यवस्था, संसदको कार्यप्रणाली तथा सरकारी निकायका गतिविधिबारे जानकारी लिन चाहनेहरूका लागि कार्यक्रम विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
मलेसियामा रहेका नेपालीसहित अन्य विदेशी नागरिक तथा पर्यटकका लागि पनि यो कार्यक्रम मलेसियाको संसद भवनभित्र प्रवेश गरी प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ अवसरका रूपमा रहेको छ।
कार्यक्रममा सहभागी हुने विदेशी नागरिकहरूले सुरक्षा जाँचका लागि आफ्नो सक्कली (Original) पासपोर्ट अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। साथै, संसद भवनको मर्यादा र औपचारिक वातावरणलाई ध्यानमा राख्दै आगन्तुकहरूले सभ्य तथा मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
मलेसियाली संसदको इतिहास, संसदीय गतिविधि र देशको शासन प्रणालीलाई नजिकबाट बुझ्न चाहनेहरूका लागि ‘ओपन डे २०२६’ महत्वपूर्ण अवसर हुने छ।




















