क्वालालम्पुर (मलेसिया):= मलेसियाको राष्ट्रिय महिला फुटबल लिग ‘लिगा वनिता नासिओनाल’ मा उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू अनिता बस्नेत, निशा थोकर र हिरा भुजेल लाई आरटिएफसी मलेसियाले स्वागत तथा बधाईसहित सम्मान गरेको छ।
शनिबार सुभाङ जयास्थित एरिना एमबिएसजे खेल मैदानमा केलाना युनाइटेड एफसी र रेड इगल्स एससीबीच भएको खेलका क्रममा आरटिएफसी मलेसियाका अध्यक्ष राजु योन्जन तामाङसहित क्लबका प्रतिनिधिहरू मैदानमै उपस्थित भएका थिए। उनीहरूले नेपाली खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्दै खेल प्रदर्शनको प्रशंसा गरेका थिए।
खेलपछि क्लबका प्रतिनिधिहरूले अनिता बस्नेत, निशा थोकर र हिरा भुजेलसँग भेटघाट गरी उनीहरूको खेल यात्रा तथा मलेसियामा नेपाली महिला फुटबलको प्रतिनिधित्वबारे चर्चा गरेका थिए।
सो अवसरमा आरटिएफसी मलेसियाका अध्यक्ष तामाङले विदेशी भूमिमा नेपाली राष्ट्रिय झण्डा बोकेर महिला फुटबलको प्रतिनिधित्व गरिरहेका खेलाडीहरूको योगदानप्रति आफूहरू गर्वित रहेको बताए। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलाडीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत र सफलताले नेपाल र नेपाली समुदायको गौरव बढाएको बताए।

आरटिएफसी मलेसियाले तीनै जना खेलाडीलाई खादा ओढाएर सम्मान गर्दै आगामी खेलहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएको थियो। कार्यक्रममा क्लबका प्रतिनिधिहरूले नेपाली खेलाडीहरूको खेल यात्रा सफल रहोस् र आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न सकून् भन्ने कामनासमेत व्यक्त गरेका थिए।

मलेसियाको घरेलु महिला फुटबलमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूको सहभागिता र उत्कृष्ट प्रदर्शनले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउँदै गएको देखिएको छ। विदेशी क्लब तथा लिगमा खेल्ने अवसरले नेपाली खेलाडीलाई अनुभव र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नसमेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




















