क्वालालम्पुर (मलेसिया):= मलेसियामा विदेशी कामदारको मेडिकल परीक्षण दर्ता प्रक्रियामा नयाँ नियम लागू हुने भएको छ। सेप्टेम्बर ७, २०२६ सोमबारदेखि रोजगारदाता तथा प्यानल एजेन्सीले प्रत्येक विदेशी कामदारको आवास ठेगाना अनिवार्य रूपमा उपलब्ध गराई पुष्टि गर्नुपर्नेछ।
नयाँ व्यवस्था Foreign Workers Medical Examination System (Fomema) को अनलाइन पोर्टलमार्फत लागू हुनेछ। कामदारको मेडिकल परीक्षणका लागि दर्ता पूरा गर्नुअघि रोजगारदाता वा सम्बन्धित एजेन्सीले आवास ठेगाना सही र हालको हो कि होइन जाँच गर्नुपर्नेछ।
ठेगाना गलत, पुरानो वा परिवर्तन भइसकेको भए दर्ता प्रक्रिया अघि बढाउनुअघि नै नयाँ ठेगाना अद्यावधिक गर्नुपर्ने Fomema ले जनाएको छ। ठेगाना पुष्टि वा अद्यावधिक नभएसम्म विदेशी कामदारको दर्ता पूरा गर्न पाइने छैन।
Fomema का अनुसार नयाँ व्यवस्थाको मुख्य उद्देश्य विदेशी कामदारसम्बन्धी विवरणलाई सही, पूर्ण र अद्यावधिक राख्नु तथा आवश्यक परेको अवस्थामा कामदारको वास्तविक बसोबास रहेको स्थान पहिचान गर्न सहज बनाउनु हो। यसले कामदारको सुरक्षा, आपत्कालीन अवस्थामा उद्धार तथा सरकारी निकायको अनुगमनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मलेसियाको स्वास्थ्य मन्त्रालयले विदेशी कामदारको मेडिकल परीक्षण व्यवस्थापनका लागि नियुक्त गरेको Fomema प्रणालीमार्फत रोजगारदाताले कामदार दर्ता, मेडिकल परीक्षणसम्बन्धी फाराम तथा अन्य आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्दै आएका छन्।
त्यसैले मलेसियामा कार्यरत नेपालीसहित सबै विदेशी कामदारले आफू हाल बसिरहेको ठेगाना रोजगारदाताको अभिलेखमा सही रूपमा उल्लेख भएको छ कि छैन यकिन गर्नु आवश्यक देखिएको छ।




















