बाढीपीडित नेपालीको दुःखमा मलेसियाको साथ, ति–रातानाद्वारा राहत कोषमा सहयोग।

क्वालालम्पुर (मलेसिया):= मलेसियास्थित ति–रताना (Ti-Ratana) संस्थाले नेपालमा तिब्बत – रसुवा नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा मृतकहरूको सम्झनामा विशेष प्रार्थना सभा आयोजना गरेको छ।

शनिबार ति–रताना हाइट्समा आयोजित कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा प्रभावित नेपालीहरूको आत्माको शान्ति र पीडित परिवारको शीघ्र राहत तथा पुनःस्थापनाका लागि प्रार्थना गरिएको थियो।

कार्यक्रममा द मोस्ट भेनेरेबल दातुक डा. के. धम्मरत्नाले ति–रताना ‘बर्सामा राक्यात’ का सदस्य तथा नेपालप्रति सद्भाव राख्ने शुभेच्छुकहरूबाट संकलित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न मलेसियास्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई सांकेतिक रूपमा हस्तान्तरण गर्नुभयो।

नेपालमा आएको विपद्को कठिन समयमा मलेसियाली समुदायबाट प्राप्त यो सहयोगले नेपालीप्रति देखाएको मानवीय सद्भाव र ऐक्यबद्धतालाई थप बलियो बनाएको छ।

नेपाली दूतावासले बाढीबाट प्रभावित नेपाली तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गर्ने ति–रताना बर्सामा राक्यात, संस्थाका सदस्यहरू तथा नेपालका शुभेच्छुकहरूप्रति गहिरो आभार व्यक्त गरेको छ।