काठमाडौं:= रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म ७ हजार ५९२ जना परिचालित भई उद्धार तथा खोजी कार्यमा खटिएका छन्। बाढीबाट ६५ जना प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीपछि हालसम्म स्वदेशी २ हजार ९८४ पुरुष र ४८० महिला गरी ३ हजार ४६४ जना तथा विदेशी ६०१ जना गरी कुल ४ हजार ६५ जना बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ।
त्यस्तै, बाढीमा परी घाइते तथा उद्धार गरिएका ४ हजार ६६६ पुरुष, २ हजार १९३ महिला र ४५ जना नखुलेका गरी कुल ६ हजार ९०४ जना रहेको विवरणमा उल्लेख छ। यसमध्ये ६५९ जना विदेशी नागरिक रहेका छन्।
बाढीमा ३४ बालक, ४३ बालिका, २३६ महिला र ४०६ पुरुष गरी ७१९ जनाको शव फेला परेको छ। यसबाहेक ४२१ जनाको आंशिक अंग र ८२ जना नखुलेको विवरण समेत सार्वजनिक गरिएको छ। फेला परेका शवको कुल संख्या १ हजार २२२ पुगेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा जमिनमा गाडिएका ८८२ शवको व्यवस्थापन गरिएको छ। त्यस्तै, पहिचान नभएका ५५३ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ।
उद्धार तथा खोजीका क्रममा होल्डिङ सेन्टरमा ३ हजार १२६ जना राखिएको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान, व्यवस्थापन तथा सम्बन्धित परिवारसँग सम्पर्क गराउने कार्यसमेत भइरहेको छ।
यसैबीच, मृतक तथा बेपत्ता व्यक्तिको पहिचानका लागि १ हजार ९२ जनाको नमुना संकलन गरिएको छ भने ५६३ मृतकको आफन्तबाट DNA नमुना संकलन गरिएको विवरणमा उल्लेख छ। कुल १ हजार ६५५ वटा DNA नमुना संकलन भएको प्रहरीले जनाएको छ।
नोट: माथिका तथ्यांक पोस्टरमा उल्लेख गरिएको २०८३ भदौ १७ गते साँझ ५:०० बजेसम्मको विवरणका आधारमा तयार गरिएको हो।




















